काठमाडौं । गायक शिव परियारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सिध्याउन लामो तालिकासहित नयाँ खेलको सुरुवात भएको टिप्पणी गरेका छन् ।
बेला मौकामा सामाजिक र राजनीतिक विषयमा टिप्पणी गरिरहने गायक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर टिप्पणी गरेका हुन् ।
महामन्त्री ढकालले पार्टीको वर्तमान अवस्थाबारे आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई समेटेर तयार पारेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरी अगाडि बढे रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका थिए ।
उनले प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई हितकर हुने सुझाव दिएका थिए ।
२०८४ को निर्वाचनमा बालेन, गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ । प्रतिवेदनमा उल्लेख यही विषयलाई लिएर गायक परियारले टिप्पणी गरेका हुन् ।
परियारले राजनीतिक खेल बाहिर देखिए जस्तो नहुने भन्दै सुरुमा मिल्ने र पछि निल्ने कुनै पनि व्यक्ति, संस्था र राजनीतिक चरित्रसँग ‘सावधान बालेन’ भनेका छन् ।