काठमाडौं । शुक्रबारका लागि तय भएको काठमाडौं महानगरपालिकाको बैठक प्रभावित भएको छ । बिहान ८ बजेदेखि राष्ट्रिय सभागृहमा बोलाइएको बैठक प्रभावित भएको हो ।
मेयर बालेन साहले कांग्रेस र एमालेका जनप्रतिनिधिले बहिस्कार गरेसँगै बैठक बस्न नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै साहले कांग्रेस र एमालेका प्रतिनिधि हिँडेसँगै बैठक प्रभावित भएको बताए ।
उनका अनुसार कसको नाममा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा विवाद थियो । कांग्रेस र एमालेले बिपि कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गरौं भन्दा आफूले चार सहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगाला श्रेष्ठको नाममा गरौं भनेको बताएका छन् ।
“एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।”, साहले भनेका छन्, “त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।”
यद्यपि, कांग्रेस र एमालेका जनप्रतिनिधिले भने साहको भनाईलाई अस्वीकार गरेका छन् । वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले मेयर बालेन साह स्वयम् उपस्थित नभएपछि बैठकबाट आफूहरु बाहिरिएको बताए ।
उनका अनुसार बिहान आठ बजेका लागि बोलाइएको बैठकमा १० बजेसम्म स्वयम् अध्यक्ष साह उपस्थित भएनन् ।
“हामीलाई आज बिहान ८ बजे नगर सभा बस्ने भनेर सूचना प्राप्त भएको थियो”, उनले भने, “तर साढे १० बजेसम्म बस्दा पनि मेयर नआएपछि हामी फर्कियौं।”
आजको नगरसभा बैठकमा आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो।
साथै, न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो।