आफ्नो बचाउ गर्दै दयाहाङ भन्छन्- हरेक फिल्ममा आआफ्नै पाटो हुन्छन्, सबैलाई एउटै बुझ्नु भएन-Sutra News

आफ्नो बचाउ गर्दै दयाहाङ भन्छन्- हरेक फिल्ममा आआफ्नै पाटो हुन्छन्, सबैलाई एउटै बुझ्नु भएन

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं ।  दयाहाङ राई अहिलेको नम्बर एक अभिनेता हुन् । समकालीन हुन् वा अग्रज अथवा अनुज पुस्ता, सबैलाई पछि पारेका उनी पहिलो रोजाइको अभिनेता बन्न सफल छन् । केही वर्षयता नेपाली फिल्ममा उनको माग अचाक्ली देखिन्छ ।



उनको समय कुर्न वर्ष दिन पनि आफ्नो फिल्मको सेड्युलपछि सार्न मेकर तयार छन् । भइरहेको पनि त्यही नै छ । एक वर्षपछिका लागि उनी प्याक भइसकेका छन् । उनीसँग नयाँ फिल्ममा काम गर्नका लागि समय छैन । त्यसैले उनी नयाँ फिल्ममा यति बेला साइन गरिरहेका छैनन् ।

यद्यपि, राम्रो स्क्रिप्ट छुट्छ कि भनेर केही स्क्रिप्ट भने पढिरहेका छन् । अहिले पनि उनका हरेक महिनामा फिल्म हलमा टुट्दैनन् । अघिल्लो वर्ष उनले झण्डै एक दर्जन फिल्ममा काम गरे । नौ वटा त प्रदर्शनमा आएका थिए । यस वर्ष पनि यो संख्यामा कमी आउने अवस्था छैन ।

दयाहाङका पछिल्ला फिल्म हेर्ने हो भने उनको चरित्र चित्रण र अभिनयमा फरकपन देखिँदैन । ग्रामीण चरित्रमा उनको बोलाईदेखि गेटअपसम्म लगभग उस्तै देखिन्छ । उनले काम गरेका फिल्मको कथामा पनि उत्ति धेरै भिन्नता भेटिँदैन । भूगोल फरक होला तर पात्रको भोगाई र संघर्ष समान देखिन्छ । यसैले उनका फिल्म एउटै प्रकृतिको भए भन्ने टिप्पणी पछिल्लो समय हुन थालेको छ ।

एकातिर फिल्मको कथा र चरित्रमा विविधता देखिन छाड्नु र अर्कोतिर बर्खाको पानीभन्दा ज्यादा फिल्मको बाढी आउन थालेपछि दर्शकमा दयाहाङप्रति वितृष्णा जाग्न थालेको छ । कतिले सिरियल जसरी आउने दयाहाङको फिल्म हेरेर दिक्क भएको प्रतिक्रिया जनाउन थालेका छन् । कतिले एकैखालको फिल्म भयो भन्दै आलोचना गर्न भ्याएका छन् । उनका हरेक फिल्मका कथावस्तुदेखि अभिनयसम्म एउटै भएको प्रतिक्रिया दिइरहेको पाइन्छ ।

यता दयाहाङलाई तपाई किन एउटै जसो क्यारेक्टरमा मात्र काम गर्नु हुन्छ ? भनेर प्रश्न गर्दा उनी भन्छन्- ‘कबड्डीका सिरिज र जारी हिट हुँदा फिल्मको स्क्रिप्ट त्यसरी नै आउने गरेका छन् ।’

बिहीबार आगामी असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले थपे, ‘अब गुरुङ, मगर, राई, लिम्बु हुन नै मलाई सुहाउँछ,अनि स्क्रिप्ट पनि त्यसरी नै आउँछ, अर्को कुरा चाहिँ कबड्डी, जारी अलिक हिट भएपछि बजारमा राम्रो भइसकेपछि सबैलाई आफ्नो कथा भन्ने कन्फिडेन्स चाहिँ भएको छ, जसले गरेर विभिन्न नेपाली समूदायको कथाहरू आइरहेको छ, जुन एउटा सुन्दर पाटो हो, यो चाहिँ नेपाली कथामा विभिन्न आयामले देखिँदै जाँदा फेरि त्यो एउटा सुन्दर कुरा हो, त्यही भएर एउटै जसो क्यारेक्टरमा देखिए जस्तो लागेको हो ।’

यसैगरी, घरज्वाइँको कलर र फ्रेम जारीसँग मिलेको हो ? भन्ने पत्रकारको प्रश्नमा दयाहाङ भन्छन्, ‘त्यस्तो त छैन, दुवै फरक हो किन फरक हो यस फिल्ममा मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारित कथा छ । मगर समूदायको आफ्नै विश्वास पद्धति हुन्छ । त्यसरी नै त्यो फिल्म बन्छ पात्रहरू त्यसरी नै निर्माण हुन्छ । त्यसरी नै बनेको छ घरज्वाइँ । जारीलाई हेर्ने हो भने लिम्बु समूदायको आफ्नै विश्वास पद्धति हुन्छ ।’

यस क्रममा उनले थपे, ‘उसले समार र विश्वलाई हेर्ने दृष्टिकोण आफ्नै तरिकाको छ । हामी जहाँ जन्मियो जहाँ हुर्कियो आफ्नो भोगाइको कारणले हेर्ने दृष्टिकोण पनि त्यस्तै हुन्छ । तर हामी कुन विश्वास प्रणालीलाई आधार गछौँ, टेक्छौँ, त्यो आँखाबाट हेर्न थालिन्छ नि त त्यो एङ्गगलबाट हेर्ने हो भने चाहिँ त्यो फरक देखिन्छ । गाउँघर, खरको छाना, टिनको छाना, पहाड अथवा मधेस जहाँ देखाए पनि गाउँघरको देखिने बित्तिकै यो चाहिँ त्यस्तै रहेछ स्टोरी भनेर हामीले सम्झिनु र बुझ्नु गलत हो । तर तपाईले हेर्नुहुन्छ भने एक घरको आर्किटेक्ट हामीलाई उस्ता उस्तै लाग्छ । तर यति फरक हुन्छ कि त्यो लामो समयको अभ्यासले बनेको गजब आर्किटेक हुन्छ । त्यस्तै फिल्ममा पनि गजबको फरक कुरा हुन्छ । त्यसरी हेर्नुपर्छ ।’

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, विना थापा मगर, अनु थापा, सोनाम लामा लगायतको पनि अभिनय छ । सुसन प्रजापतिले छायांकन गरेको फिल्मको कथा निर्देशक मगर आफैले लेखेका हुन् भने उनलाई पटकथा र संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट