सेयर बजारमा किन छाइरहेको सुस्तता ?-Sutra News

सेयर बजारमा किन छाइरहेको सुस्तता ?

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । आर्थिक वर्षको अन्त्य र सुरुवातको समय मानिने असार–साउनलाई आर्थिक क्षेत्र चलायमान हुने समयको रुपमा पनि बुझिन्छ । जसको प्रभाव स्वरुप पुँजी बजारमा पनि सोही शैलीमा नै कारोबार वृद्धि भइरहेको पाइन्छ ।   



यद्यपि, यस पटक भने पुँजी बजारमा उत्साह ल्याउने कारोबार हुन सकेको छैन । सिजन मानिने समयमै पुँजी बजारमा सुस्तता छाइरहेको छ । 

एकातिर बजार २ हजारको बिन्दुकै आसपासमा निरन्तर घुमिरहेको छ भने अर्कोतिर कारोबार रकम निरन्तर घट्दो अवस्थामा छ । बिहीबारको कारोबारलाई हेर्दा, दैनिक कारोबार तीन अर्ब ६३ करोडमा सीमित भएको छ । जुन यो साताकै न्यून कारोबार रकम पनि हो । 

बजारमा निरन्तरजसो गिरावट आइरहनु र कारोबार रकम पनि सोही शैलीमा घटिरहनुले बजारमा सुस्तता छाइरहेको देखाउँछ । बजार विश्लेषकहरूका अनुसार लगानीकर्ता आकर्षित नहुँदा बजारमा उत्साह छाउन सकेको छैन ।

सेयर बजार विश्लेषक शंकर घिमिरे, केही आन्तरिक तथा बाह्य कारणले बजारमा सुस्तता छाइरहेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै मनोविज्ञान बिग्रिरहेको छ ।

“सरकारको नीति पुँजीबजार मैत्री छैन, सरोकारवालाका अभिव्यक्ति लगानीकर्तालाई उत्साहित होइन निरुत्साहित बनाउने खालका छन्, अर्कोतर्फ बैङ्किङ क्षेत्र पनि लगानी विस्तारमा तयार देखिएको छैन”, घिमिरे भन्छन्, “यी यस्तै कारणले मनोविज्ञान सही बन्न सकेको छैन, मनोविज्ञान सही नभएपछि बजार अगाडि जाने विषय नै हुँदैन ।” 

अहिले एकातिर विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन चर्चामा छ भने अर्कोतर्फ गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्तिबाट लगानीकर्ता झस्किएका छन् । विश्लेषक घिमिरे बजारमा सेन्टिमेन्ट बिर्गान यी दुई कुरा निकै जिम्मेवार छन् । 

मल्लिक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा सेयर कारोबारमा हुने नाफामा ३९ प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरिएको छ । जसबाट लगानीकर्ता झस्किएका छन् । 

यता, गभर्नर अधिकारीले लगानीकर्तालाई त्रर्साउने शैलीमा मौद्रिक नीति खुकुलो नआउने बताएका छन् । 

यद्यपि, अर्थमन्त्रालय र राष्ट्र बैंकमा पुँजी बजारको विषयलाई लिएर चलेको छलफलले भने बजारलाई लयमा ल्याउन सक्ने बुझाई विश्लेषक घिमिरेको छ । उनका अनुसार मल्लिक नेतृत्वको समितिले जे प्रतिवेदन बुझाएपनि मन्त्रालय बजारलाई चलायमान गराउने पक्षमा छ । 

“अर्थमन्त्रालय र राष्ट्र बैंकका बीच गम्भीर समीक्षा भएको छ, पुँजी बजारलाई जसरी पनि अगाडि लैजानुपर्छ भन्ने बुझाई देखिन्छ”, उनले भनेका छन्, “नयाँ केही नीति आउँछन्, मौद्रिक नीतिले पनि सम्बोधन गर्छ, लाग्छ, अब विस्तारै बजार अगाडि जान्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट