भारतको अपराजित यात्रामा विराटको कमजोर प्रदर्शन-Sutra News

भारतको अपराजित यात्रामा विराटको कमजोर प्रदर्शन

शुक्रबार, १४ असार २०८१

शुक्रबार, १४ असार २०८१

काठमाडौं । जारी टी २० विश्वकपमा भारत अपराजित यात्राका साथ तेस्रो पटक फाइनल प्रवेश गरेको छ । दुई पटक विश्व विजेता टोली इङ्ग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।



शनिबार राति हुने फाइनल खेलमा भारतले अर्को अपराजित टोली दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । दक्षिण अफ्रिका नेपालसँग हार नजिक पुगेको थियो । कडा प्रतिस्पर्धा भएको उक्त खेलमा नेपालमाथि एक रनले जित निकाल्दै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको थियो ।

दक्षिण अफ्रिकाले पहिलो पटक सेमिफाइन यात्रा तय गरेको अफगानिस्तान टोलीमाथि ९ विकेटको सानदार जित निकालेको थियो । यो विश्वकपमा दक्षिण अफ्रिका विजेता बने नयाँ कीर्तिमान बन्ने छ । भारत विजयी भए लामो पहिलो संस्करणबाट विजयी बन्न नवौँ संस्करणसम्मको प्रतिक्षा टुंगिने छ ।

जारी विश्वकपमा भारत सबैभन्दा सफल टोलीका रुपमा स्थापित बन्दै गएको छ । आफूले खेलेको सात वटा खेलमा भारतले सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

भारतले सेमिफाइनलमा इङ्ग्ल्याण्डमाथि ६८ रनले जित निकाल्न सफल भयो । केही महिनाअघि सम्पन्न एक दिवसीयको फाइनलमा आफूलाई पराजित गरेको अष्ट्रेलियामाथि २४ रनले जित हात पारेको थियो ।

पाकिस्तानविरुद्ध ६ रनले जित निकाल्दा बंगलादेशविरुद्ध ५० र अफगानिस्तानमाथि ४७ रनले जित निकालेको थियो । पाकिस्तानबाहेक अन्य देशमाथि हाबी बन्दै जित निकालेको भारतका लागि ओपनर दुई खेलाडीले कूल ३२२ रन बनाउन सफल भए । खेलमा टोलीले कूल एक हजार ८० रन बनाएको छ ।

भारतको जितका लागि कप्तान रोहित शर्माले सर्वाधिक २४८ रनको योगदान दिएका छन् । उनले थप एक खेल्न बाँकी रहेको छ । जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउनेमा उनीभन्दा अगाडि दुई खेलाडी छन् । उनले थप ३३ रन बनाउन सके अफगानिस्तानका रहेमुल्ला गुरुवाजले बनाएको २८१ रनभन्दा अगाडि पुग्दै शीर्ष स्थानमा उक्लिने छन् ।

सबैभन्दा धेरै विकेट लिनेमा अफगानी खेलाडीले दबदबा बनाउँदा भारतका अश्रदीप सिंहले १५ विकेट लिएका छन् । यस्तै, अन्य बलरले पनि राम्रो प्रदर्शन गर्दैै टोलीलाई योगदान दिएका छन् ।

यसैबीच, टोलीका अर्का ओपनर विराट कोहलीले हेर्न लायक प्रदर्शन गर्न सकेनन् । उनले खेलका सबै खेलमार्फत जम्मा ७४ रनको योगदान दिएका छन् । अष्ट्रेलिया, अमेरिका र आयरल्याण्डविरुद्ध उनी डकआउट बन्न पुगे ।

यस्तै, पाकिस्तानविरुद्ध जम्मा चार रन बनाउन सकेका उनले बनाएको सर्वाधिक रन बंगलादेशविरुद्ध थियो । यस खेलमा उनले ३७ रन बनाउन सफल भएका थिए । यसरी हेर्दा, विश्वकपमा अपराजित बन्दै सफल बनेको टोलीमा उनी असफल बनेका छन् ।

सेमिफाइनलको खेलअघि पत्रकारले विराटजस्तो खेलाडीले अहिलेसम्म ठूलो रन बनाउन नसक्नु दुर्भाग्यपूर्ण छ, जब उनी आउट हुन्छन्, कारण पत्ता लगाउन गाह्रो हुन्छ ? भन्दै कप्तान रोहित शर्मालाई पत्रकारहरूले प्रश्न गरेका थिए ।

यो प्रश्नपछि कप्तान शर्मा विराट कोहलीको बचाउ गर्दै भने, ‘हेर्नुस्, यो सबै हाम्रो अगाडि कस्तो अवस्था छ त्यसमा भर पर्छ, कण्डिसनको बारेमा बारम्बार कुरा गर्न मलाई धेरै बोरिङ लाग्छ, तर यो महत्त्वपूर्ण कुरा हो, किनभने हामीले न्युयोर्कमा जित्ने स्कोर के थियो देख्यौँ, त्यसैले यस्तो अवस्थामा, हामी जान्छौँ र ब्याट घुमाउँछौँ भन्ने सोच्नु यो समझदारीपूर्ण छैन, त्यसैले हामी एक समझदार टोली बन्न चाहन्छौँ ।’

उता बिहीबार बिहान सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको छ । प्रतियोगितामा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित बन्न पुगेका छन् ।

अपराजित यात्रामा दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्याण्डलाई ७ रन, वेष्ट इण्डिजलाई तीन विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

शनिबार राति हुने विश्वकपको फाइनलका लागि उच्च मनोबलका साथ अपराजित यात्रामा रहेकै दक्षिण अफ्रिकासँग भारतको प्रदर्शन हेर्न लायक हुनेछ । यस दिन दुई टोलीमध्ये एकको अपराजित यात्रा समाप्त हुनेछ । विजेता टोलीले उपाधिमाथि कब्जा जमाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट