काठमाडौं । स्वास्थ्य राज्यमन्त्री हसिना खानको उपस्थितिमा पशुपति क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । मानव सेवा फाउण्डेसनले शुक्रबार (आज) पशुपति क्षेत्रमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
बृहत् सरसफाइ कार्यक्रममा राज्यमन्त्री खानसहित विभिन्न सुरक्षा निकायका प्रतिनिधि, आमा समूह तथा फाउण्डेसनका सदस्य र अन्य सामाजिक तथा धार्मिक संघसस्थामा आवद्ध रहेका व्यक्तिहरू गरि करिब तीन सय बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।
फाउण्डेसनको आयोजनामा आगामी श्रावण महिनामा आयोजना हुन लागेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको पूर्व सन्ध्याको अवसरमा पशुपति क्षेत्र सरसफाइ कार्यक्रमको आयोजना गरिएको मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णु कुमार थापाले जानकारी दिएका छन् ।
उनका अनुसार सरसफाइ कार्यक्रम वनकाली हंसमण्डप, पशुपति मन्दिर परिसर, कैलाश पर्वत क्षेत्र, सुमार्गी भवनको क्षेत्रलगायतको क्षेत्रमा गरिएको थियो ।