भारी वर्षाले तीन घरमा क्षति पुग्दा नौ जनाको मृत्यु, दुई घाइते-Sutra News

भारी वर्षाले तीन घरमा क्षति पुग्दा नौ जनाको मृत्यु, दुई घाइते

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । नेपालमा मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । यस अवधिमा ठूलो धनजनमा क्षति पुगेको छ ।



१५ असारको दिन देशभर धान दिवस मनाइरहँदा वर्षाका कारण नौ जनाले ज्यान गुमाए । वर्षासँगै पहिरोले घरमा क्षति पुग्दा गुल्मी, स्याङ्जा र बागलुङमा नौ जनाले ज्यान गुमाएका हुन् ।

गुल्मीमा पहिरोले गएराति घर पुरिँदा एकै घरका पाँच जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका ६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिएको थियो । घटनामा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

यसैगरी स्याङ्जामा पनि पहिरोले घर पुरिँदा आमा–छोरीले ज्यान गुमाए । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको निधन भएको हो ।

पहिरोमा परी ३१ वर्षीया आमा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए । ‘राति सुतेका बेला पहिरो खसेको हो,’ उनले भने ।

घटनाका बेला आमा र छोरी मात्र घरमा थिए । छोरो गाउँमा आफन्तको घरमा बास बस्न गएकाले उनको ज्यान जोगिएको उनको भनाइ थियो । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण पहिरो जाँदा बागलुङमा पनि दुई जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका ८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका ८ का वडा सदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट