एकीकृत समाजवादीको दशौँ महाधिवेशनको तयारी पूरा, यस्तो छ व्यवस्था-Sutra News

एकीकृत समाजवादीको दशौँ महाधिवेशनको तयारी पूरा, यस्तो छ व्यवस्था

शनिबार, १५ असार २०८१

शनिबार, १५ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।



भोलि देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

महाधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए ।

ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए ।

उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका थिए । महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिने छन् ।

ती प्रतिनिधिले २९९ सदस्यीय कार्य समिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौं उपत्यका बाहिरका प्रतिनिधि आइसकेको जनाइएको छ ।

महाधिवेशन स्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशन स्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।

महाधिवेशन स्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ  मानेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट