काठमाडौं । स्ट्याण्ड अप कमेडियन सुशान्त बस्याल स्टेजमा फर्किएका छन् ।
केही महिना अगाडि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका सुशान्त शनिबार आयोजित ‘कमेडी च्याम्पियन’को फाइनलमा स्टेजमा देखिएका हुन् ।
गत बर्षको चैत्रको ९ गते शोका निर्देशक विशाल भण्डारीसहित ६ जना चढेको कार दुर्घटनामा परेको थियो । ६ जनामध्ये सुशान गम्भीर घाइते भएका थिए ।
बस्यालको मध्यपुर ठिमी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनै, बस्यालले शनिबार आयोजित ‘कमेडी च्याम्पियन’को फाइनलमा स्टेजमा आफ्नो प्रस्तुति समेत दिएका थिए । सो क्रममा उनले, यो शोमाथि नै रोस्ट गरेका थिए ।
‘कमेडी च्याम्पियन-२’का प्रतिस्पर्धी समेत उनले रहेका यो शोको मेन्टर र असिस्टेन्ट डिरेक्टरको रुपमा काम गर्दै आएका थिए ।
नवलपरासी घर भई हाल काठमाडौं बस्दै आएका बस्याल एक स्ट्याण्डअप कमेडियन हुन् । उनी कक्षा ८ र ९ मा पढ्दादेखि नै कमेडी गर्दै आएका थिए । त्यहीँबाट उनको कमेडियन यात्रा सुरु भएको थियो ।
उनलाई इण्डियन कमेडी निकै मन पर्नुको साथै नेपाली हास्य कलाकार विशाल गौतमको कमेडी निकै राम्रो लाग्ने थियो ।
यता, कमेडी च्याम्पियन सिजन- ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । सुनीलले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै स्ट्यान्डअप कमेडी शोको विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।
‘कमेडी च्याम्पियन सिजन–१’को विजेता हिमेश पन्त हुन् भने सिजन–२ को विजेता भरतमणि पौडेल हुन् ।