नयाँ भर्सनमा ‘न मैले लेखें, न उनले लेखिन्’-Sutra News

नयाँ भर्सनमा ‘न मैले लेखें, न उनले लेखिन्’

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा सार्वजजिक गरिएको छ ।



चर्चित गायक हिमाल सागरको स्वर र सङगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत शनिवार काठमाडौँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै सोही मिठाससहित अडियो थोरै बदलाव गर्दै म्युजिकल फिल्म सार्वजनिक गरिएको हो ।

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित उक्त गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । गीतमा निकेश खड्काको निर्देशन, धीरजजङग शाहको छायाङकन, विकास धमलाको सम्पादन रहेको छ ।

यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

गायक हिमालले भने, ‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु, यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ ।’

‘मलाई उक्त समयमा स्थापित गर्ने गीतले नयाँ पुस्ताको मन जित्नेमा विश्वस्त छु । यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुदैन । यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ’, हिमालले भने ।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’,‘तिमीले माया नगरे’,‘मेरो मनमा आगो लाउने को’,‘तीन ढिके फूली लाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् ।

गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्री अधिकारीले यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताउँदै उनले भनिन्, ‘यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थे । धेरै साथीलाई डेडीकेट पनि गरेकी छु । यो गीत मेरो सधै फेवरेट थियो । अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु ।’

उनले आफू अष्ट्रेलियामा रहदा नै यस गीतको भिडियोमा काम गर्ने अफर आएका कारण भ्रमण छोट्याएर नेपाल फर्किएर काम गरेको बताइन ।

यस म्युजिकल फिल्मका निर्देशक खड्काले पहिलो भिडियो भन्दा फरक र सरल प्रस्तुती नयाँ गीत तयार गरिएको बताए । उनले भने, ‘पुरानो लोकप्रिय गीत हुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ । त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु । यसमा पनि प्रेम प्रसङ्ग नै देखाएको छु तर शैली फरक छ । यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट