काठमाडौं । पदमुक्त गर्ने निर्णयकाविरुद्ध सर्वोच्च अदालतबाट मुद्दा जितेर शुक्रबार संसद फर्केका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा फेरि मन्त्रीमा नियुक्त भएका छन् । आइतबार देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनः मन्त्रीमा नियुक्त गरेका हुन् ।
देवकोटालाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमा नियुक्त देवकोटाले पथ तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।
गत जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको थियो । आफ्नो चुनाव चिन्हबाट विजयी भई सांसद भएका देवकाटोमाथि आफ्नो संसदीय दलको ह्वीप लाग्ने माओवादी केन्द्रको जिकिर थियो ।
माओवादीको निर्णयपछि सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना टाँस्दै प्रदेश सभा बैठकलाई जानकारी गराएका थिए । जससँगै उनी पदमुक्त भएका थिए ।
यद्यपि, उक्त निर्णय असंवैधानिक भएको भन्दै देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमाथि सुनुवाई गर्दै सर्वोच्चले गत असार १० मा उनीमाथिको कारबाहीलाई तत्कालका लागि बदर गरिदिएको थियो ।