‘१२ गाउँ’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा-Sutra News

‘१२ गाउँ’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । फिल्म ‘१२ गाउँ’को फस्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।



अभिनेता विराज भट्टको आफ्नै निर्माण तथा निर्देशनमा निर्माण भइरहेको फिल्मको आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । तर, दशैंमा कुन दिनबाट फिल्म प्रदर्शन गरिने भन्ने विषयमा तय गरिएको छैन ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको यो फिल्मबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । सार्वजनिक फस्टलुक पोस्टरमा समीरलाई एक्सन अवतार प्रस्तुत गरिएको छ ।

समीरको डेव्युसँगै विराजले फिल्म ‘१२ गाउँ’लाई नेपाली फिल्मकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । यस फिल्मले नेपाली फिल्मको एक्सनलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको रहेको छ ।नेपाली फिल्ममा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताउँछन् ।

हाल छायांकनकै चरणमा रहेको यो फिल्ममा समावेश गरिने एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पुर्ण छायांकन प्याकअप हुने बताइएको छ । एक्सन-थ्रिलर कथामा बन्न लागेको यस फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् ।

समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर-नमितबाट अभिनय प्रशिक्षण लिएका थिए । यही फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । फिल्मको वितरणको जिम्मा काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट