नजिकिँदै देउवा–ओली, सत्ता सहकार्य कति सम्भव ?-Sutra News

नजिकिँदै देउवा–ओली, सत्ता सहकार्य कति सम्भव ?

रमेश लेखक भन्छन्– छलफल प्रधानमन्त्री प्रचण्डसँग पनि चलिरहेको छ

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । शनिबार पुष्पलाल जन्म शताब्दी समारोहको ब्यानरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित देशका अधिकांश शीर्ष कम्युनिष्ट नेता उपस्थित भए । आयोजक पुष्पलाल अध्ययन समाजले पनि पुष्पलाल र कम्युनिष्ट आन्दोलनबारे चर्चा परिचर्चा गर्न सबैजसो शीर्ष कम्युनिष्ट नेताहरूलाई बोलाएको थियो ।



अधिकांशजसो शीर्ष नेताहरु उपस्थित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । उनले आफू उपस्थित हुन नसक्ने जानकारी अन्तिम समय मात्रै आयोजकलाई गराएका थिए । ओलीले एमालेको तर्फबाट उपाध्यक्ष युवराज ज्ञवालीलाई अन्तिम समय कार्यक्रमका लागि पठाएका थिए ।

“उहाँ आउँछु भन्नुभयो, हामी सबैजसो लिडरलाई उपस्थित गराएर छलफल गर्न पाइयो भन्नेमा थियौं”, कार्यक्रमका संयोजक लोककृष्ण भट्टराईले भने, “तर, उहाँले अन्तिम समय उपस्थित हुन सकिन भन्नुभयो, उपाध्यक्ष ज्ञवाली जीलाई पठाउनु भएछ ।”

यता ‘विशेष कारण’ बताएर उपस्थित नभएका ओली आफ्नै निवासमा बेग्लै छलफलका लागि तयारीमा जुटिरहेका थिए । प्रज्ञा प्रतिष्ठानको एउटा हलमा कम्युनिष्ट नेताहरुबीच कम्युनिष्ट आन्दोलनका विषयमा छलफल भइरहँदा ओली भने कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नै निवासमा छलफलमा थिए ।

ओलीको निजी सचिवालयले जनाएअनुसार दिउँसो २ बजेदेखि सुरु भएको देउवा–ओली छलफल झण्डै तीन घण्टा चलेको थियो । दुवै पार्टीका नेताहरुले समसामयिक विषयमा छलफल केन्द्रीत रहेको बताएका छन् ।

कांग्रेस नेता रमेश लेखकले छलफल नियमित राजनीतिक विषयमा भएको बताए । “यसलाई केही हुनै लाग्यो कि भन्न पर्दैन, यो नियमित राजनीतिक छलफल हो, केही दिन अघि प्रधानमन्त्रीसँग छलफल भएको थियो, हिजो एमाले अध्यक्षसँग छलफल भयो, देशका राजनीतिक विषयमा यस्ता छलफल चलिरहन्छन्”, बालकोट छलफलबारे लेखकले भनेका छन् ।

लेखकका अनुसार अहिले टीआरसीसहित विभिन्न विधेयकमाथि साझा सहमति खोज्ने प्रयास भइरहेको छ । जुन प्रयासअन्तर्गत छलफल चलेको हो ।

“संसद्‌मा थुप्रै विधेयक अलपत्र छन्, टीआरसी लामो समयदेखि अल्झिरहेको छ, यसलाई टुंग्याएर जाऔँ भन्ने हो”, उनले भनेका छन्, “ठूलो दलको हिसाबले कांग्रेसले पहल गरेको हो ।”

यद्यपि, नेताहरूबीच टीआरसीसहितका विधेयकभन्दा अन्य विषयमा छलफल केन्द्रित भएको बुझाई धेरैको देखिन्छ ।

अहिले सत्ता समीकरणभित्र तिव्र असमझदारी विकास भएको छ । बजेटमा पोखिएको असमझदारीको अवस्था अन्य निर्णय र नियुक्तिमा पनि देखिन्छ । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुनुको पछाडि पनि दलहरूबीच विकास भएको असमझदारीलाई लिन सकिन्छ ।

सत्ता समीकरणभित्र बढ्दो असमझदारीका बीच भएको लामो छलफललाई सामान्यकृतरूपमा लिन मिल्दैन । यसअघि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच पनि यस्तै प्रकृतिको छलफल चलेको थियो । जुन छलफलहरूका बीच ओली र देउवा छलफलमा जुटेको देखिन्छ ।

सहकार्य कति सम्भव ?

आम निर्वाचनपछि नै कांग्रेस र एमालेका नेताहरूबीच खुलारूपमै सत्ता सहकार्यबारे पटक–पटक छलफल भएको छ । यद्यपि, दुई दलबीच भएको छलफल कुनै एक दल सत्ताबाट पाखा पर्दा मात्रै भएको देखिन्छ । सत्ताबाट पाखा पर्ने दलले सहकार्यको विषयमा छलफल अगाडि बढाए पनि मूर्तरूप लिएको देखिन्छ ।

अहिले विशेषगरी प्रतिपक्षीको बेन्चमा पुगेको कांग्रेसले एमालेसँग सहकार्यको प्रस्ताव अगाडि सारेको छ । यद्यपि, कांग्रेसको प्रयासले मूर्तरूप पाउने अवस्था नभएको जानकारहरू बताउँछन् ।

राजनीतिक विश्लेषक मुकुन्द आचार्य समीकरण परिवर्तन सहज नभएको बताउँछन् । “कांग्रेस सत्तामा पुनरागमनको प्रयासमा छ, यद्यपि यो सहज छैन”, विश्लेषक आचार्यले भनेका छन्, “एमाले स्पष्टरूपमा ‘मिसन ८४’ मा केन्द्रित छ, एमालेले आफ्नो मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसलाई बुझेको छ, यस्तोमा कांग्रेससँग उसले सहकार्य गर्ला भन्ने देखिन्न ।”

वर्तमान सत्ता समीकरण आफू अनुकुल बनाएरै जाने पक्षमा एमाले रहेको आचार्यको बुझाई छ । “अहिले एमालेभित्रको सिंगो मतलाई हेर्ने हो भने यो समीकरण हामी अनुकुल छ भन्ने बुझाई देखिन्छ, उनीहरु यसलाई थप अनुकुलित बनाएर अगाडि जाने पक्षमा नै देखिन्छन्”, आचार्यले भनेका छन्, “एमालेले प्रधानमन्त्रीलाई थप आफ्नो दबाबमा राख्न अनेकन रणनीति अपनाउन सक्छ तर, यो समीकरण भत्काउँदैन ।”

अहिले गणितीय हिसाबले कांग्रेस र एमाले मात्रै मिल्दा संघमा सरकार बन्छ । सँगै अधिकांश प्रदेशमा पनि दुई दलको सहज बहुमत हुने देखिन्छ । यद्यपि, सत्ता सहकार्यपछि प्रतिस्पर्धी को भन्ने विषयमा महत्वपूर्ण हुने विश्लेषक आचार्यको भनाई छ । जसबाट सचेत दलहरूले सत्ता सहकार्य नगर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट