काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि छन् ।
त्यस्तै, रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायत उपस्थित छन् ।
तर, सत्ता समीकरणकै मुख्य दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन सत्रमा सहभागि छैनन् । ओलीको सचिवायका अनुसार, एकीकृत समाजवादीको कार्यक्रममा ओलीले अन्य नेताहरूलाई पुग्न भनेका छन् ।
ओली नजानुबाट माधवसँगकाे सम्बन्ध चिसिएकै अर्थमा बुझिएकाे छ ।
एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजना गरेको हीरक महोत्सवमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपस्थित थिएनन् । गत वैशाख १० मा भएको उक्त कार्यक्रममा नेपाल उपस्थित नभएसँगै ओलीले असन्तुष्टी जनाएका थिए । त्यसयता सत्ता समीकरण हेरफेरको कसरतदेखि विभिन्न घटनाले दुई नेताबीच थप दुरी बढाएको देखिन्छ ।