किन केन्द्रीय समिति बैठक लाइभ गराउन खोजे मुलुकले ?-Sutra News

किन केन्द्रीय समिति बैठक लाइभ गराउन खोजे मुलुकले ?

आइतबार, १६ असार २०८१

आइतबार, १६ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने चर्चा चलिरहेको छ । समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल नहुँदै सार्वजनिक गरेर विवादमा तानिएका ढकाललाई रास्वपा अनुशासन आयोगले यसअघि नै स्पष्टीकरण सोधिसकेको छ ।



यहीबीच सोही प्रतिवेदन र ढकालले सार्वजनिकरुपमा दिएको अभिव्यक्तिबारे छलफल गर्न रास्वपाले आगामी बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । जुन बैठकलाई ढकालमाथि नै कारबाही गर्न बोलाइएको रुपमा पनि अथ्र्याइएको छ ।

यस्तोमा ढकालले बैठकलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गरेका छन् । उनले आफ्नो बारेमा जनता र कार्यकर्ताले मूल्यांकन गर्न पाउनुपर्ने बताएका छन् ।

“बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून् भन्ने हो, गर्ने वा नगर्ने केही भन्नु भएको छैन”, आफूले राखेको मागबारे ढकालले भनेका छन् ।

विगतमा ढकाल स्वयम्ले पार्टी बैठक गोप्य राख्नुपर्ने भन्दै मोबाइल प्रयोगमा समेत प्रतिबन्ध लगाउने गरेका थिए । तर, यसपटक उनले बैठकलाई लाइभ गर्न खोज्नुले नै अवस्था सामान्य नरहेको जनाउँछ ।

सूत्रसँगको कुराकानीमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले ढकालले राजनीतिक हिसाबले गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही हुनसक्ने बताएका छन् । उनले पार्टी जोगाउन पनि यस्ता कारबाही आवश्यक रहने तर्क गरेका छन् ।

इलाममा सम्पन्न उपनिर्वाचनपछि रास्वपाले देशभरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन ढकाललाई जिम्मा दिएको थियो । तर, प्रतिवेदन लेख्ने जिम्मा पाएका ढकालले पार्टी सभापति रवि लामिछानेलाई नबुझाउँदै प्रतिवेदनमात्रै सार्वजनिक गरेनन्, उनले प्रतिवेदनबारे पनि आफ्ना धारणा पनि सार्वजनिकरुपमा राखे ।

उनले पार्टी चरम संकटतर्फ उन्मुख भएको बताएका छन् । हालकै अवस्थामा चुनाव भए र चुनावमा गएमा पार्टीले एक÷दुई सिट मात्रै जित्न सक्ने दाबी गरेका छन् ।

यस्तै, महामन्त्री ढकालले अहिलेको अवस्था रहिरहे रास्वपा विवेकशील साझा पार्टी बन्ने निष्कर्ष पनि निकालेका छन् । प्रतिवेदनमा उनले माओवादी केन्द्र र नेकपा एमाले जस्ता पुराना दलसँग मिल्नुभन्दा काठमाडौंका मेयर बालेन साहसहित स्वतन्त्र जनप्रतिनिधिलाई साथमा लिएर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् ।

उक्त प्रतिवेदन सार्वजनिक भएसँगै रास्वपाभित्र विवाद छ । ढकालसँग सभापति लामिछानेसहित शीर्ष नेताहरु असन्तुष्ट देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट