अनु शाह भन्छिन्- निरन्तर फिल्म पाइरहन कठिन छ-Sutra News

अनु शाह भन्छिन्- निरन्तर फिल्म पाइरहन कठिन छ

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । आगामी साउन ११ गतेबाट फिल्म ‘ईश्वर’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । राजु गिरीको निर्देशन रहेको यो फिल्मको निर्माण टिम यतिबेला प्रचार प्रसारमा जुटिरहेको छ ।



आइतबार ‘ईश्वर’को पत्रकार भेटघाटमा फिल्मकी मुख्य नायिका अनु शाहले आफू फिल्मप्रति ठूलो आशा रहेको बताएकी छिन् । ‘द युगदेखि युगसम्म’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अनुले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको काम गर्न पाएकी छैनन् । कुनै समय फिल्म र म्यूजिक भिडियो लगातार ब्यस्त रहने अनुलाई कोभिडपछि म्यूजिक भिडियो छिटपुट गरिरहेको भए पनि फिल्मको अफर लगभग शून्यजस्तै भयो ।

झन्डै १५ वर्षदेखि अभिनयमा सक्रिय रहेकी अनुले डेढ दशकमा लगभग दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । पछिल्लो समय फिल्ममा खासै सक्रिय नदेखिएकी पनि दर्शकमाझ उनी विभिन्न माध्यमबाट आइरहने नायिकामा पर्छिन् ।

राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने इच्छाले आफैंलाई गाह्रो बनाएको र ठूलो पर्दामा करिब पाँच वर्षदेखि नदेखिएको प्रतिक्रिया दिँदै अब कमब्याक फिल्म ‘ईश्वर’ प्रदर्शनमा आउने तयारीमा रहेसँगै फिल्मप्रति ठूलो आशा रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘निरन्तर फिल्म पाइरहन कठिन नै छ । ‘ईश्वर’ नै मैले करिब पाँच वर्षपछि गरेकी हुँ । बीचमा कुनै फिल्म गरिनँ । अफर नै नआएको चाहिँ होइन । विभिन्न कारणले गरिनँ । यद्यपि, म्यूजिक भिडियोका कारण कामको अभाव भने रहेन ।’

उनले अघि भनिन्, ‘गएको ५ वर्षमा राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने इच्छाले आफैंलाई गाह्रो बनायो, यस्तो इच्छा हरेक कलाकारलाई हुने गर्छ । प्रायः स्थापित ब्यानरहरुमा आफ्नै कलाकार हुनु र कोरोनापछि फिल्म बन्न कमी हुँदा धेरै कलाकारहरुलाई काम एकदमै कम मिलिरहेको छ भन्ने लाग्छ । कोरोनाअघि फिल्मबाट प्रस्ताव आइरहेको भए पनि त्यसपछि फिल्म नै कम बन्न थाले, म्यूजिक भिडियो त म हप्ताभरि नै गरिरहेकी हुन्थेँ । अहिले पनि म्यूजिक भिडियोको चाहिँ कमी छैन । तर, कोरोनापछि पैसाको खडेरीले होला फिल्म नै कम बनिरहेका छन् । म्यूजिक भिडियो पनि धेरै नै कम छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट