एकीकृत समाजवादीको बन्द सत्र सुरू हुँदै, अध्यक्षमा तीन नेताको दाबी-Sutra News

एकीकृत समाजवादीको बन्द सत्र सुरू हुँदै, अध्यक्षमा तीन नेताको दाबी

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।



काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा केही बेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यसैबीच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा. गंगालाल तुलाधर र डा. विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्ने छ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ ।

अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट