राजनीतिमा नयाँ ‘ट्वीस्ट’को संकेत, तारन्तार छलफलमा शीर्ष नेतृत्व-Sutra News

राजनीतिमा नयाँ ‘ट्वीस्ट’को संकेत, तारन्तार छलफलमा शीर्ष नेतृत्व

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । राजनीतिमा नयाँ ट्वीस्टको सम्भावना देखिएको छ । शीर्ष तहमा एकपछि अर्को गरी बढेको भेटवार्ताले नयाँ सम्भावनालाई जन्माएको हो । पछिल्लो एक सातादेखि नै मुख्य राजनीतिक दलका पहिलो र दोस्रो तहका नेताहरू तारन्तार छलफलमा जुटिरहेका छन् ।



एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ छलफलमा छन् भने अर्कोतिर उनीहरूले दोस्रो तहका नेताहरूलाई पनि छलफलका लागि खटाएका छन् । खासगरी शनिवार दिउँसो एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको ओली र देउवा छलफलले राजनीति तरङ्गित छ ।

तीन घण्टासम्म चलेको बालकोट वार्ताले नयाँ समीकरणको खाका बनाएको चर्चा चलेको छ । यद्यपि, नेताहरूले बालकोट वार्ताको विषयलाई गोप्य राखेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सत्ता समीकरण फेरबदलको विषयमा छलफल नभएको बताउँछन् । उनका अनुसार तात्कालिक राजनीतिक विषयमा मात्रै छलफल चलिरहेको छ ।

“दलहरूबिच छलफल चल्नु स्वभाविक हो, चल्नुपर्छ तर, सत्ता समीकरण नै फेरबदल गर्ने गरी छलफल भएको भन्ने चर्चा अर्थहीन हो”, लेखकले सूत्रसँगको कुराकानीमा भनेका छन् ।

यता, माओवादी केन्द्रका सचिव गणेश शाहले पनि लेखककै शैलीमा चर्चालाई अस्वीकार गर्दछन् । उनका अनुसार सत्ता समीकरण नै परिवर्तन हुने अवस्था अहिले छैन ।

“छलफल हुन सक्छन्, राजनीतिक तहमा विभिन्न खालका छलफल हुने कुरा स्वभाविक हो”, शाहले भनेका छन्, “सरकार नै परिवर्तन हुन लाग्यो वा हुँदैछ भन्ने अवस्था देखिन्न, वर्तमान सत्ता समीकरणभित्र पनि समीकरण नै टुटाउने गरी अवस्था सिर्जना भएको छैन ।”

तर, बालकोट वार्तासँगै भने सतहमै देखिने गरी छलफलले तीव्रता पाएको छ । जसपश्चात् निरन्तर भएका भेटवार्ताले सम्भावनालाई बलियो बनाउँदै लगेको छ ।

तारन्तार भेटवार्ता

गत असार ११ गते (सोमबार) प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलमा तीनै दलका अन्य नेताहरू पनि उपस्थित थिए ।

त्यसको भोलिपल्ट असार १३ गते (बुधबार) प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवा बेग्लै छलफलमा जुटे । काँग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा नेताहरूमा छलफलमा जुटेका थिए ।

सोही दिन नै प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच बालुवाटारमा छलफल भयो । प्रचण्ड–देउवा छलफलपछि तीन नेता बालुवाटारमा छलफलमा जुटेका थिए ।

बुधबार वान टु वान छलफलपछि भएको सामूहिक छलफलपछि असार १५ (शनिवार) ओली निवास बालकोटमा देउवा र ओलीबिच छलफल भयो । झन्डै तीन घण्टासम्म चलेको छलफलपछि नै अन्य छलफलमाथि चासो बढेको हो ।

त्यसयता, नेताहरूबिच थप भेटवार्ताले तीव्रता पाएको छ । देउवा–ओली भेटवार्तापछि प्रचण्डले एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेलाई बोलाएर आइतबार फेरि छलफल गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीबिच वान टु वान छलफल भएको थियो । वान टु वान छलफलपछि मात्रै लामिछाने मिसिएका थिए ।

आइतबारको छलफलपछि प्रचण्डले सोमबार नै ओलीसँग झन्डै तीन घण्टा बढी छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा गरी छलफल भएको छ ।

तीन घण्टा बढी भएको छलफल सरकारका काम कारबाही र केही विधेयकमा विषयमा केन्द्रित बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बाहिर चर्चा भएजस्तो गरी छलफल नभएको बताएका छन् ।

“सरकारका काम कारबाहीलाई व्यवस्थित ढङ्गले अघि बढाउने र सत्ता साझेदार दलहरूबिचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भएको छ”, मल्लले भनेका छन्, “बाहिर चर्चा भएजस्तो विषय होइन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट