‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’-Sutra News

‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन् ।



प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभई सबै पक्ष जिम्मेवारीका साथ लाग्नु पर्ने बताएकी हुन् ।

‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन,’ उनले भनिन्, ‘संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ ।’

शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

सामूदायिक विद्यालयका प्रधानाध्यापकका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको जानकारी दिँदै शिक्षामन्त्री श्रेष्ठले हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को निर्मम समीक्षा गर्नु पर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण सम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनअनुसार निर्णय हुने उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट