शरणार्थी प्रकरणको फाइल ‘रि–ओपन’ हुँदा सत्तामा ‘उथलपुथल’-Sutra News

शरणार्थी प्रकरणको फाइल ‘रि–ओपन’ हुँदा सत्तामा ‘उथलपुथल’

सोमबार, १७ असार २०८१

सोमबार, १७ असार २०८१

काठमाडौं । ‘लहरो तान्दा, पहरो झर्ने’ त्रासपछि रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल भारतीय नागरिक बेचन झा र प्रतिक थापा पक्राउसँगै ओपन भएको छ । प्रहरीले शुक्रवार झालाई कञ्चनपुरबाट र थापालाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।



नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मानिएका झा र थापा एक वर्षदेखि फरार थिए । दुवै राजनीतिक संरक्षणमै फरार बनाइएका पात्र हुन् ।

किनकि थापा पूर्वगृहमन्त्री एवम् हाल एमालेका जिम्मेवार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का पुत्र हुन् भने झा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र पूर्वगृहमन्त्रीसमेत रहेका नेता कृष्ण सिटौला निकट मानिन्छन् ।

तत्कालीन समय झा र थापालाई पक्राउ गर्न खोज्दा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी केन्द्र)भित्र ठुलो विवाद देखिएको थियो । तत्कालीन गृहमन्त्री र अहिलेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुवैलाई पक्राउ गर्न दिएको निर्देशनलाई प्रहरीबाटै उल्लंघन भएको थियो ।

हुन पनि श्रेष्ठको उक्त आदेशपछि उनलाई गृहमन्त्रीबाट हटाउन सत्ता समीकरणबिचमा पटक–पटक छलफल पनि भएको थियो ।

जुन विवादकै बिच शरणार्थी प्रकरणको अनुसन्धानमा सहभागी एआइजी श्यामलाल ज्ञवाली, एसएसपीद्वय डा. मनोज केसी र दानबहादुर कार्की सरुवा भएका थिए । तीन प्रहरी अधिकृतको सरुवासँगै उक्त प्रकरणमाथिको अनुसन्धान पनि रोकिएको थियो ।

तर, एक वर्षपछि उक्त फाइल खोलिएको छ । गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर देशबाहिर भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रि–ओपन भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिचको छलफलपछि फाइल रि–ओपन गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रि–ओपन भएसँगै तत्कालीन समय जस्तै अहिले पनि सत्ता समीकरणभित्र उथलपुथलको दृश्य देखिन थालेको छ । सतहमा सत्ता परिवर्तनको खेल नै सुरू भएका छन् ।

घटनाक्रमकै बिच संसद्को ठुलो दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)का बिचमा सत्ता सहकार्यको सन्दर्भमा छलफल भएको छ । दुई दलका पहिलो र दोस्रो तहका नेताहरूबिच बेग्ला–बेग्लै छलफल चलिरहेको छ ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच झन्डै तीन घण्टा छलफल भएको थियो । जुन छलफलसँगै मुख्य दलका शीर्ष नेताहरूबिच तारन्तार छलफल चलिरहेको छ ।

उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच सरकार बनाउने गरी कसरत भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणा मात्रै नभई एमालेका पनि उच्च पदस्थ मुछिएका छन् । विभिन्न आरोपितले राणालाई पैसा बुझाएको भन्ने बयान दिएका छन् ।

यता, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य उक्त घटनामा जोडिएका छन् । प्रकरणका मुख्य योजनाकारको रूपमा रहेका केशव दुलालले प्रहरीसँगको बयानमा बज्राचार्यलाई रकम बुझाएको बताएका थिए । यद्यपि, राणा र बज्राचार्यमाथि अनुसन्धान हुन सकेन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाले दिएको बयानमा उच्च राजनीतिक तहको संलग्नता देखिएसँगै प्रकरण नै थामथुम पारिएको छ । यस्तोमा रि–ओपन गर्नुले अर्को कम्पन ल्याएको प्रष्ट बुझिन्छ ।

राजनीतिक विश्लेषक सुरेन्द्र विद्रोही पछिल्लो सत्ता उथलपुथलको सुरुवात नै नक्कली शरणार्थी प्रकरणबाट भएको बताउँछन् ।

“यो प्रष्ट छ, नक्कली शरणार्थी प्रकरणलाई कसरी थामथुम पारियो, किन थामथुम पारियो, अहिले यसको फाइल खुल्नु र सत्ता परिवर्तनको खेल हुनुलाई संयोग मात्रै भन्न मिल्दैन”, विद्रोहीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट