कस्तो सिनेमालाई राम्रो सिनेमा मान्ने ? यो संसारभर बहसको विषय हो । भनिन्छ, मान्छेले जति आफ्नो क्षितिज देख्छ, त्यति नै भन्छ । राम्रो सिनेमा पनि मान्छेको बुझाईको स्तरअनुसार नै मापन हुन्छ । तर, जसरी तपाई राम्रो साहित्य, राम्रो संगीत, राम्रो चित्रकलालाई त्यसको कलात्मकताका आधारमा खुट्याउनुहुन्छ, सिनेमालाई पनि त्यसरी नै हेर्ने हो ।
भनिन्छ, राम्रा चलचित्रले सधैँ समाज र इतिहाससँग अन्तरसंवाद गरिरहेका हुन्छन्, अनि भविष्यको कल्पना पनि । मानवीय व्यवहारलाई कलात्मक शैलीमा दुरुस्तै चित्रण गरिरहेका छन् । पछिल्लो समय नेपाली सिनेमाले रुपान्तरणको बाटो समातिरहेको छ । क्रमिक रुपमा विकास र सुधारका कामहरु भइरहेका छन् । खास गरी सन् २००६ मा माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेयता चलचित्र निर्माणमा पुनरुत्थान र गुणस्तरमा प्रगति भएको छ । यद्यपी नेपाली सिनेमाले सिमान्तकृत समुदायहरुको प्रतिनिधित्व र चरित्रचित्रण सम्मानजनक र न्यायसंगत ढंगले गरिरहेको छ ? प्रंश्न त उठिरहेकै छ ।
फिल्म चिन्तक एवम् निर्देशक नविन सुब्बा सधैँ चिन्ता गर्छन्, ‘अमेरिकामा कति फिल्म फ्लप भयो भनेर चर्चै हुँदैन । बरु स्पिलवर्गले कस्तो फिल्म बनाए, ड्यानियल डे–लेविसको एक्टिङ कस्तो थियो भने छलफल गर्छन् । तर हामी यहाँ यस्तो छलफल गरिरहेका छैनौँ, कुन फिल्म फ्लप भयो, कुन हिट संख्या गन्नमै मख्ख छौँ । ’
हिट/फ्लपको हिसाबमा मक्ख भइरहँदा कतै हामीले सिमान्तकृत समुदायको चरित्रचित्रणमा अन्याय त गरिरहेका छैनौं ? फिल्म निर्माणक्रममा फिल्मकर्मी यस विषयमा कति गम्भिर हुन्छन्, त्यो त थाहा भएन तर केही फिल्ममा मधेशी पात्रको चरित्र चित्रण हेरेपछि म एक अध्ययनमा होमिन बाध्य भएँ ।
पछिल्लो समय मधेशी पात्रको अनुहार नेपाली फिल्ममा भित्रिन थालेको छ, यो सुखद पक्ष हो । तर, जसरी भित्रिरहेको छ, त्यसमा खुशी हुन सकिन्छ ? सिनेमाजस्तो सिर्जनात्मक विधाले मधेशी पात्रलाई फिल्ममा कमेडी सिर्जना गर्ने नियतले मात्रै राख्न मिल्छ र ?
उदाहरणका लागि ८ वर्षअघि रिलिज भएको एउटा फिल्म– ‘रेशम फिलिली’ । यो फिल्ममा मधेशी मुलकै कलाकार कामेश्वर चौरासियाले मधेशी पात्र हरिनारायण मण्डलको भूमिका निर्वाह गरेका छन् । फिल्ममा एउटा दृश्य छ, जहाँ यो पात्र रिसको झोकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोज्छ । त्यति मात्रै होइन, ऊसँगैको पहाडी मुलको पात्र रेशम (विनय श्रेष्ठ)ले उभिएर पिसाब फेर्दा, ऊ भने बसेर पिसाब फेर्छ । अर्काे चर्चित फिल्म ‘होस्टेल रिटन्र्स’ मा नाजिर हुसेनले जनकपुर, धरमपुरबाट आएका रामेश्वर यादवको चरित्र निर्वाह गरेको छन् । फिल्ममा उसको प्रवेश नै हास्यास्पद छ । हातमा शिवको मूर्ति, ब्यागमा घण्टी, निधारमा रातो अबिरको टीका लगाएर उ सोझो, केही पनि नजान्ने ‘पाखे’ को भूमिकामा देखाइएको छ । फिल्मभरि उसलाई सोझो, केही पनि नजान्ने, साथी–सर्कलमा भिज्न नसक्ने खालको युवाका रूपमा देखाइएको छ । कहिले कपाल काट्ने हजाम, कहिले जुत्ता सिलाउने मोची, कहिले पान बेच्ने पान पसले, यो त नेपाली चलचित्रमा प्रायः देखिइरहने मधेशी पात्रको चित्रण नै हो ।
हाँस्नु स्वास्थ्यका लागि निःसन्देह फाइदाजनक छ । यसमा कुनै शंका रहेन । तर, कसैका कमजोरी, त्रुटि, अपूर्णतामाथि हाँस्नु जायज हो त ? समीक्षा आवश्यक छ । कुनै खास वर्ग वा समुदाय वा क्षेत्रका मान्छेहरूको मजाक उडाएर हाँस्नुमा के आनन्द, के मनोरञ्जन ?
पछिल्लो समय मधेशी पात्रको अनुहार नेपाली फिल्ममा भित्रिन थालेको छ, यो सुखद पक्ष हो । तर, जसरी भित्रिरहेको छ, त्यसमा खुशी हुन सकिन्छ ? सिनेमाजस्तो सिर्जनात्मक विधाले मधेशी पात्रलाई फिल्ममा कमेडी सिर्जना गर्ने नियतले मात्रै राख्न मिल्छ र ?
यिनै प्रश्नहरुले बेस्सरी हिर्काएपछि मैले नेपाली सिनेमामा मधेशी पात्रको चरित्र चित्रणबारे एक अध्ययन गरेको थिएँ । सन् २०१५ देखि २०१९ सम्मका दश चलचित्रहरूको विश्लेषण, १३४ दर्शकहरूसँग सर्वेक्षण र तीनजना मुख्य चलचित्रकर्मी तथा विशेषज्ञहरूसँगको अन्तर्वार्तासहित गरिएको एक अध्ययन तथा अनुसन्धानले निकालेको निष्कर्ष हो– नेपाली सिनेमामा मधेसी पात्रहरूको चरित्रचित्रण समग्रमा त्रुटीपुर्ण र विभेदकारी छ, यसमा परिवर्तन आवश्यक छ । सम्बन्धित समुदायभित्रको विविधता, मूल्य–मान्यता र सांस्कृतिक संवेदनशीलताबारे गहिरो अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गर्न जरुरी छ ।
१. पृष्ठभूमि
मधेसी समुदाय तराई क्षेत्रमा बसोबास गर्ने एक प्रमुख जातीय समूह हो, जसले नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको छ । तर, नेपाली चलचित्रमा उनीहरूको उपस्थिति निकै न्यून छ । जब देखाइन्छ, त्यसमा पनि रुढीवादी मनोविज्ञानबाट ग्रसित चरित्रचित्रण छ ।
मधेसी समुदायको चरित्र चित्रणलाई लिएर हुने आलोचना र बहस यो पहिलोपटक होइन । वर्षौदेखि यसमाथि आलोचनात्मक टिप्पणी हुँदै आइरहेकै छ । दशकौंदेखि नेपाली चलचित्रमा मधेसी पात्रहरूलाई सामान्यतया हास्य भूमिकामा, खलनायकको रूपमा वा श्रमिकको रूपमा मात्र सीमित गरिएको पाइन्छ । यस्तो चित्रणले मधेसी समुदायको सहि चित्रण र सकारात्मक छवि निर्माण गर्न नसकेको पाइन्छ । यसले समाजमा रहेका पूर्वाग्रहलाई झन् बढावा दिने काम गरेको छ । सहि चरित्रचित्रणले मात्रै समाजमा समानुभूति, समझदारी र एकता ल्याउन मद्दत गर्ने हो जसबारे नेपाली फिल्मकर्मी गम्भिर हुन आवश्यक छ ।
नेपाली चलचित्र क्षेत्रको ऐतिहासिक परिप्रेक्ष्यमा, मधेसी पात्रहरूको चित्रणमा आएको परिवर्तनलाई बुझ्नका लागि सन् २००६ को माओवादी द्वन्द्वको समाप्ति र त्यसपछि आएको राजनीतिक परिवर्तनलाई ध्यान दिनुपर्छ । यसले नेपाली समाजका विविधतालाई नयाँ दिशामा लान मद्दत गरेको थियो । तथापि, चलचित्र उद्योगले अझै पनि सिमान्तकृत समुदायहरूको प्रतिनिधित्वमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।
यस पृष्ठभूमिमा मैले गरेको अध्ययन नेपाली चलचित्रमा मधेसी पात्रहरूको चित्रणको विश्लेषण गर्दै विविधता, समावेशीकरण, र सांस्कृतिक संवेदनशीलताको महत्वलाई उजागर गर्न लक्षित छ । यस अध्ययनले नेपाली चलचित्र उद्योगमा रहेको समस्यालाई उजागर गर्दै सुधारका लागि सुझावहरू प्रदान गर्दछ ।
सर्वेक्षणले के भन्यो ?
अध्ययनका क्रममा मैले पछिल्लो एक दशकमा रिलिज भएका र मधेशी पात्रलाई समावेश गरेको १० फिल्म छनौट गरेको थिएँ । छनोट गरिएका १० नेपाली चलचित्रहरुको विश्लेषण र चलचित्र विज्ञहरुसंगको अन्तर्वार्ता र यि फिल्म हेरेका दर्शकसँग गरेको सर्वेक्षणका आधारमा अध्ययन भएको थियो । १३४ दर्शकहरूको सर्वेक्षणले दर्शकहरूको अपेक्षा र चलचित्रमा मधेसी पात्रहरूको चित्रणबीच ठूलो खाडल देखियो । धेरैजसो दर्शकले मधेसी पात्रहरूलाई पर्दामा देखाइए पनि तिनीहरूको प्रस्तुतिप्रति असन्तुष्टि व्यक्त गरे । दर्शकहरूले मधेसी समुदायको जीवन र जटिलतालाई दुरुस्तै झल्काउने, रूढीवादी हास्य भूमिकाभन्दा पर गएर थप सूक्ष्म र प्रामाणिक चित्रणको माग गरेका छन् ।
अध्ययनका क्रममा मैले सन् २०१५ देखि २०१९ सम्म रिलिज भएका र मधेशी पात्रलाई प्रस्तुत गरेका १० चर्चामा आएका नेपाली चलचित्रहरू होस्टेल रिटर्नस, रेशम फिलिली, लभसव, भैरव, षडङ्ग, अलविदा, ए मेरो हजुर ३, जात्रा, मिस्टर भर्जिन र फाटेको जुत्ता हेरेको थिएँ । फिल्म हेरेपछिको विश्लेषणले दर्शकहरूको टिप्पणी र असन्तुष्टिलाई ग-यो । यी चलचित्रहरूमा मधेसी पात्रहरू प्रायः मजदुर, खलनायक, वा हास्य भूमिकामा मात्र सीमित थिए । यसले मधेसी समुदायको विविधता र गहिराईलाई सही रूपमा प्रस्तुत गर्न नसकेको हो कि ? बहस आवश्यक छ ।
फिल्म क्षेत्रका विश्लेषकहरु पनि यो कुरामा सहमत देखिए । नेपाली चलचित्रमा मधेसी पात्रहरूको सीमित र गलत प्रस्तुतिको कारण ऐतिहासिक र सामाजिक–सांस्कृतिक विभाजन तथा मधेसी समुदायका कथाकारहरूको सीमित ज्ञानका कारण यस्तो परिणाम देखिएको बताए । खासगरी मधेशी इतर समुदायमात्रै नेपाली सिनेमामा काम गरिरहेका कारण यस्तो अवस्था देखिएको फिल्म चिन्तक तथा निर्देशक नविन सुब्बा बताउँछन् । ‘चाहे ति खस आर्य हुन् या आदिवासी जनजाती, उनीहरुले अरु समुदायलाई देखाउँदाखेरी उडाउने, होच्याउने गरेको पाइन्छ ,’ सुब्बा भन्छन्, ‘उठाउनचाँही मधेशी विषय उठाउने तर बुझाई गलत हुने । त्यसैले नेपाली सिनेमामा मधेशी समुदाय गलत चरित्रचित्रण र हाँसोको पात्र बनाउने काम भइरहेको छ । सिनेमाको शक्ति र यसले पार्ने प्रभावबारे गम्भिर नहुँदा पनि यस्तो भइरहेको छ । ’
मधेशी पात्रलाई उडाएर, होच्याएर र हाँसोको पात्रका रुपमा देखाउँदा दर्शकलाई मनोरञ्जन दिन सकिन्छ भन्ने झुर मनोविज्ञानले पनि यसमा काम गरिरहेको उनको तर्क छ । ‘केही मधेशी मेकरहरु नै नेपाली सिनेमा निर्माणमा आउँदा पनि मधेशी पात्रलाई न्यायसँगत देखाउन सकेको पाइँदैन,’ उनी भन्छन्, ‘डोमिनेन्ट कल्चरलाई बुझ्न नसक्दा ति केही मधेशी मेकर पनि चुकेको पाइन्छ । उसले पनि डोमिनेन्ट कल्चर नै सत्य हो भन्ने बुझ्दा समस्या भएको हो । ’
अध्ययनको निष्कर्ष :
मत सर्वेक्षणका क्रममा ५९.७% प्रतिशत अर्थात् बहुमत दर्शकले मधेसी पात्रहरूलाई नेपाली सिनेमा गलत ढंगले प्रस्तुत गरेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । यसबाट नेपाली दर्शक र फिल्ममेकरबीचको खाडल पनि प्रष्टै बुझ्न सकिन्छ । सर्वेक्षणमा सहभागी ७७.६% प्रतिशतले मधेसी पात्रहरूलाई नेपाली सिनेमामा देखाउनुको कारण हाँस्य सिर्जना भने ।
बहुसंख्यक अर्थात् ८२.८% ले नेपाली चलचित्रमा मधेसी समुदायलाई सही रूपमा चित्रण गर्ने क्षमताको अभाव भएको महसुस गरे । र, एक चौथाई अर्थात् २५.४% ले मात्र उनीहरूलाई सही रूपमा चित्रण गरेको विश्वास व्यक्त गरे ।
‘धेरै भन्दा धेरै मधेशी समुदायबाटै मान्छेहरु आएर आफ्नो कथा भन्नुप-यो,’ उनी भन्छन्, ‘उनीहरुले नै हो सहि तरिकाले भन्न सक्ने । त्यसपछि अरुले पनि मधेश र मधेशी पात्र राखेर कथा भन्दा तुलना गर्न थाल्छन् र सहि तरिकाले चित्रण गर्न बाध्य हुन्छन् ।’
अध्ययनका लागि छनोट गरिएको १० नेपाली चलचित्रको सामाग्री विश्लेषण पनि सर्वेक्षणअनुसार नै देखियो । सर्वेक्षणमा दर्शकले प्रकट गरेको धारणासँग सामाग्री विश्लेषण मेल खायो । अर्थात्, नेपाली फिल्ममा मधेशीको चरित्रचित्रण ‘स्टेरियोटाइप्ड’ नै पाइयो । अध्ययनका क्रममा हेरिएका चलचित्रहरुमा मधेसी जनताको जीवन, संघर्ष वा आकांक्षालाई गहिरोसँग प्रस्तुत गर्न चुकेको पाइयो । गैर–मधेसी कलाकारलाई मधेशी पात्रमा अभिनय गराउँदा पनि यस्तो परिणाम आएको देखियो । मधेशी पात्र राखेर फिल्म बनाउने १० वटै फिल्मका निर्माता र निर्देशकहरु गैर मधेशी पाइयो जसकारण पनि सहि चरित्रचित्रणमा त्रुटी भएको अनुमान गर्न सकिन्छ । अध्ययन गरिएका १० फिल्ममध्ये प्रदिप भट्टराईको ‘जात्रा’ अपवादमा राख्न सकिन्छ । यसमा पनि मधेशी पात्र त हजाम नै बनेको छ, यद्यपी मधेसी पात्रको जीवनको केही गहिराइ र जटिलताको चित्रण फिल्मले गर्न खोजेको छ ।
निश्चित समुदायप्रतिको बुझाईको अभावले पनि चरित्रचित्रण न्यायसंगत हुन नसकेको पाइयो । पहाडी मुलका कलाकारलाई मधेशी पात्रमा अभिनय गराएर मधेशी लवजमा नेपाली भाषा बोल्न लगाएर दर्शक हसाउन सकिन्छ भन्ने मनोविज्ञान फिल्ममेकरमा देखियो । पटकथा लेखनमै समस्या पनि यसको एउटा मुल कारण देखियो । पटकथा लेखकहरू बीच मधेसी समुदायको बारेमा गहिरो बुझाइको कमीले मधेशी पात्रको रुढीवादी चरित्रचित्रण रहेको विज्ञहरुको समेत मत थियो ।
सुधार र समाधान कसरी ?
र, अन्त्यमा मत सर्वेक्षण, फिल्म विश्लेषण र विशेषज्ञहरूको विचारबाट प्राप्त निष्कर्षहरूले नेपाली चलचित्रमा मधेसी पात्रहरूको चित्रण रूढीवादी, असंवेदनशील र समुदायको सही प्रतिनिधित्व गर्न असफल भएको देखिन्छ । यो प्रवृत्तिले मधेसी समुदायप्रति समाजको साँचो बुझाई पु-याउन र गम्भीर परिणामहरू निम्त्याउन सक्ने देखिन्छ । एउटा समुदायप्रति गलत धारणाको विकास गर्न सिनेमाले भूमिका खेल्नु भनेको समाज र देशकै लागि हानिकारक विषय हो । यसले मधेसी कलाकारहरूको अवसरहरू सीमित गर्दै उनीहरूको प्रतिभा प्रदर्शनमा समेत बाधा पुर्याउँछ।
त्यसकारण नेपाली सिनेमामा मधेशी पात्रको चरित्रचित्रणलाई लिएर परिवर्तनको आवश्यकता देखिन्छ । मधेसीहरूको गलत प्रतिनिधित्व र प्रस्तुतिलाई सम्बोधन गर्न चलचित्र उद्योगले सबै तहमा विविधता र समावेशीकरणलाई अँगाल्नुपर्दछ। अन्तराष्ट्रिय मञ्चमा स्थापित नेपाली फिल्म चिन्तक नविन सुब्बा इतर समुदायमा लिबरल र सेकुलर आइडिया बढाउन सके यसको समाधान हुन सक्ने बताउँछन् । ‘धेरै भन्दा धेरै मधेशी समुदायबाटै मान्छेहरु आएर आफ्नो कथा भन्नुप-यो,’ उनी भन्छन्, ‘उनीहरुले नै हो सहि तरिकाले भन्न सक्ने । त्यसपछि अरुले पनि मधेश र मधेशी पात्र राखेर कथा भन्दा तुलना गर्न थाल्छन् र सहि तरिकाले चित्रण गर्न बाध्य हुन्छन् ।’ मधेशी पात्रमा मधेशी कलाकारलाई नै अभिनय गराए उसले पात्रमा न्याय गर्न सक्छन् भन्ने विषयमा पनि फिल्मकर्मी सचेत हुनुपर्छ ।
गैरमधेशी नेपाली फिल्म निर्माता र पटकथा लेखकहरू पनि मधेसीहरूको रूढीवादी चित्रणभन्दा बाहिर जानुपर्ने देखिन्छ । यसका लागि गहिरो अनुसन्धान, मधेसी समुदायको संलग्नता र मधेसी कथाकारहरूसँग सहकार्य आवश्यक छ। यसको साथै फिल्म निर्माता र कलाकारहरूका लागि मधेशी समुदायको प्रतिनिधित्व र सांस्कृतिक संवेदनशीलता सम्बन्धी प्रशिक्षण कार्यशालाहरू आयोजना गर्न सकिन्छ । यसले समुदायमा उनीहरूको चित्रणको प्रभाव बुझ्न मद्दत गर्दछ। मधेसी साँस्कृतिक विज्ञहरू र संस्थाहरूसँगको सहकार्यले त्रुटीपुर्ण र विभेदकारी मधेशीको चरित्रचित्रणलाई सहि र सम्मानजनक बनाउन मद्दत गर्न सक्छ ।
(यो लेख चलचित्र विकास बोर्डद्धारा प्रकाशित ‘चलचित्र मञ्च २०८१’ पुस्तकमा प्रकाशित छ ।)