काठमाडौं । नायिका मलिका महतको शीर्ष भूमिका रहेको फिल्म ‘सतीदेवी’ को रिलिज मिति पोस्टपोन्ड भएको छ।
लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्मको निर्माण टिमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वघोषित मितिबाट एक महिना पछाडि सारिएको जानकारी दिएका छन्।
यो फिल्म यसअघि साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा थियो। ‘केही प्राविधिक कारणले गर्दा हामीले सो मितिमा नभइ पहिलाझै कुनै चलचित्र वा निर्मातालाई असर नगर्ने गरी सतीदेवी नयाँ मिति ०७ भदौंमा प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
सो मितिमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म नल्याउन वितरक, निर्मातामा अनुरोध समेत गरिएको छ। नयाँ प्रदर्शन मितिसँगै नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ।
निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण रहेको फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । फिल्मको टिजरदेखि गीतसम्म रिलिज भइसकेको छ ।
‘सतीदेवी’ मा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ।
दिलाका क्रियसन प्रा.लीको ब्यानरमा बनेको नारीप्रधान यो फिल्मले यसअघि आयोजना गरिएका विशेष शोमा प्रशंसा पाएको छ भने विभिन्न फेस्टिभलमा अवार्ड समेत पाएको छ।
फिल्ममा बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।