रि-रिलिजमा आउने भयो ‘बुलाकी’-Sutra News

रि-रिलिजमा आउने भयो ‘बुलाकी’

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । गत वर्षको वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । सोही मिति (वैशाख १)मा ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको र  पर्याप्त शोज नपाएपछि निर्माण टिमले दुई दिनमै फिल्म हलबाट उतारेका थिए ।



लक्ष्मण सुनारको निर्देशन रहेको यो फिल्म अब साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भएको छ ।  टोपेन्द्र विष्ट निर्माता रहेको फिल्मलाई भदौ ३ जनै पूर्णिमा र भदौ ४ गते गाईजात्राको सार्वजनिक विदालाई लक्षित गर्दै प्रदर्शन गर्न लागिएको हो ।

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहको कथा छ ।

फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट मुख्य भूमिकामा छन् । फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा छ । राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ ।

नरेन ‘बुलाकी’लाई मौलिक फिल्म भन्छन् । नेपालमा मौलिक फिल्म भएनन् र हुनुपर्छ भनिरहेका बेला आफूहरूले मौलिक सिनेमा लिएर आएको उनको दाबी छ । ‘हामी मौलिक फिल्म भएन नेपालमा, हाम्रो आफ्नै मौलिक सिनेमा चाहियो भन्छौँ । हो हामीले भनेजस्तै मौलिक सिनेमा हो यो,’ नरेनले स्पष्ट पारे ।

‘बुलाकी’ पश्चिम कर्णालीको विषयमा बनेको फिल्म हो । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख । कर्णालीका मान्छेले बोल्न र लगाउनका लागि गर्ने दुःखलाई फिल्मको कथाले समेटेको छ ।

कर्णालीको संस्कृतिमा फिल्म बनाएको निर्माणपक्षले बताएको छ । ‘बुलाकी’ आफ्नै प्रतिबिम्ब देखिने मौलिक फिल्म भएको निर्माणपक्षले बताएको छ ।

यो फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ । फिल्मको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ ।

फिल्मलाई वितरण त्रिनेत्रम् र एफडीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट