अब के गर्छ माओवादी केन्द्र ?-Sutra News

अब के गर्छ माओवादी केन्द्र ?

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)का बीचमा नयाँ सरकार बनाउने सहमति भएसँगै सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र के गर्ने निर्णयमा पुगिसकेको छैन ।



पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस–एमाले सहमतिसँगै आन्तरिक छलफलमा जुटेका छन् । उनले एकातिर पदाधिकारी बैठक बोलाएर परामर्श लिएका छन् भने अर्कोतिर सत्ता साझेदार (एमाले बाहेक)सँग पनि छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । यद्यपि, तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सम्भावना कम छ ।

“कांग्रेस र एमालेका बीचमा सत्ता सहकार्य गर्ने सहमति भएको कुरा आएको छ, सँगसँगै अन्य घटनाक्रम पनि सतहमा देखिएका छन्”, उनले भनेका छन्, “यसमा हामी के गर्ने भन्ने सबैसँग छलफल गरिरहेका छौं, तथापि, संवैधानिक अधिकारलाई प्रयोग गरेर जाने विषय हाम्रो प्राथमिकतामा पर्छ ।”

अहिले माओवादी केन्द्रका निम्ति दुई विकल्प देखिन्छ । एउटा, राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र अर्को संवैधानिक अधिकारलाई प्रयोग गरी ३० दिन सरकारमा रहने ।

माओवादीभित्र दोस्रो विकल्पमा छलफल भइरहेको सचिव शर्माले जनाए । शर्माका अनुसार त्यस्तो अवस्थामा संविधानको धारा ७५ को उपधारा ३ अनुसार सरकार बन्नुपर्ने हुन्छ । जुन व्यवस्थामा एमाले होइन, कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

“हामीसँग सम्झौता तोडेर अगाडि बढिन्छ भने हामीले सहजीकरण गर्न आवश्यक छैन, हामी पनि एउटा शक्ति हौं”, शर्माले भनेका छन् ।

कांग्रेस र एमालेबीचमा भएको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भन्ने छ । यदि, माओवादी केन्द्र मार्ग प्रशस्त नगरेको खण्डमा संवैधानिक हिसाबले ओली प्रधानमन्त्री बन्न पाउँदैनन् । माओवादी केन्द्र ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारीमा लागेको देखिन्छ ।

२०७९ पुस १० मा प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट