कांग्रेस–एमाले गठबन्धनप्रति राप्रपा र जसपा सकारात्मक-Sutra News

कांग्रेस–एमाले गठबन्धनप्रति राप्रपा र जसपा सकारात्मक

मंगलबार, १८ असार २०८१

मंगलबार, १८ असार २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच समीकरण निर्माणको सहमति भएसँगै राजनीति धुव्रिकृत हुन थालेको छ । दुई दलको सहमतिलाई लिएर दलहरु विभाजित देखिएका छन् ।



दुई दलबीचको सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सकारात्मकरुपमा लिएको छ । राप्रपाले दलहरुबीच भएको सहमतिले आफ्ना माग सम्बोधन हुने अवस्था बनेको बताएको छ ।

सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले उठाएका धेरै मागहरुप्रति दुई दल सकारात्मक हुनु सुखद भएको बताए । “संविधान सुधार गर्नुपर्छ, प्रणालीमा समस्या छ भन्दै आएका हौँ, त्यो विषयमा अब बन्ने सरकार अघि बढ्यो भने त हामीले विचार गर्छौ”, लिङ्देनले भनेका छन्, “हामी सरकारमा नगएर पनि समर्थन गर्न सक्छौँ, गएर पनि सरकारलाई समर्थन गर्न सक्छौँ, मूलभूत कुरा संविधान संशोधनको हो ।”

नयाँ समीकरणलाई जनता समाजवादी पार्टी (जसपा)ले पनि खुलेर स्वागत गरेको छ । जसपाले दुई दलबीचको सहमति सुखद भएको प्रतिक्रिया दिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने–नजाने भन्नेबारे पछि निर्णय हुने बताएका छन् । “सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ”, उनले भनेका छन् ।

कांग्रेस र एमाले पनि आफ्ना एजेन्डामा सहमत सबै दललाई सरकारमा समेट्ने बताएका छन् । एजेन्डा मिल्ने दलहरुलाई समेटेर राष्ट्रिय सहमतिको खाका दिने तयारी दलहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट