काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको नयाँ गठबन्धनमा सहभागि नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धन देश र जनताको पक्षमा नरहेको निष्कर्ष निकाल्दै सहभागि नहुने निर्णय गरेको हो ।
रास्वपाले नयाँ गठबन्धनले देशलाई राजनीतिक स्थायित्व नदिने पनि निष्कर्ष निकालेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
“नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन, यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ”, बैठकको निर्णयबारे परियारले भने, “अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैनौं ।”
रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया सुरु भएलगत्तै सरकारबाट बाहिरिने बताएको छ । तत्कालै आफ्ना मन्त्रीहरुले राजीनामा नदिने परियारले बताए ।
“अर्को सरकार बन्ने प्रक्रिया अघि बढ्नै वित्तिकै हामी यो सरकारबाट बहिर्गमन हुन्छौं, नयाँ सरकारमा जाँदैनौ”, उनले भने, “हामी यो सरकारमा भएको हुनाले तत्कालै छाडेर हिँड्न मिल्दैन ।”
कांग्रेस–एमाले गठबन्धन निर्माणको पछाडि वर्तमान सरकारले सुशासनको पक्षमा थालेको कदमहरु भएको बुझाई रास्वपाको छ । “नयाँ गठबन्धन निर्माणका कारणहरु सबैलाई थाहा छ, चैय, बेचैन सबै छ यसमा”, परियारले भनेका छन्, “हामीले जुन किसिमको काम गर्न खोजेका थियौं, जसरी लामो समयदेखिको कुशासन र विकृतिमा रास्वपाले गृहप्रशासनबाट नेतृत्वदायी भूमिका खेलिरहेको थियो, यी यावत् कुराहरुले पनि गठबन्धन निर्माणमा भूमिका खेले ।”
रास्वपाले संविधान संशोधन गर्ने दुई दलको निर्णयमा खोट देखेको छ । केका निम्ति संविधान संशोधन भन्ने स्पष्ट नभएको परियारले बताए ।