काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला काठमाडौंमा चौंथो चरणको छायांकन भइरहेको छ । चन्द्र पन्तको डेव्यु निर्देशन रहेको यस फिल्मको बाँकी छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिने तयारी गरिएको छ ।
‘ह्रस्व दीर्घ’को निर्माणपक्षले बताए अनुसार केही कलाकारहरुको दृश्य खिच्न बाँकी रहेको र उक्त दृश्य खिचिएसँगै चार दिनमा सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि निर्माणपक्ष प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा जुट्ने भएको छ ।
फिल्मको अन्तिम सेड्युलकालागि बलिउड अभिनेता ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय अभिनेता ‘पुष्पा’को भिलेन सुनिल वर्मा नेपाल आएका छन् । सोमबारबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको फिल्मको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले प्रदीप रावत र सुनिल वर्मा नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको बताइन् । सोही पत्रकार भेटघाट कार्यक्रममा नीताले प्रदीप र सुनिलको पार्टको छायांकन अहिले भइरहेको जानकारी दिइन् ।
यता अभिनेता रावतले आफुले फिल्ममा नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको जानकारी गराए । यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए ।
निर्देशक चन्द्र पन्तलाई नेपाली फिल्मको ‘कोहीनुर’ भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।
यस्तै, दक्षिण भारतीय अभिनेता वर्माले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । स्कृप्ट अनुसार फिल्म पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो फिल्मले नेपाली फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’लाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुने निर्माणपक्षको दाबी छ। यो फिल्मको वितरण जिम्मा मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट लिएको छ ।