पहिलो फिल्म ‘ड्रिम्स’बाटै नेपाली फिल्ममा चम्किएकी अभिनेत्री हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह । ‘चकलेटी हिरोइन’ का रुपमा उनले आफ्नो अभिनय यात्रा अघि बढाइन् । ‘ड्रिम्स’मा अनमोल केसीजस्ता ‘स्टार’ अभिनेता हुँदा पनि उनले आफूलाई छायाँमा पर्न दिइनन् ।
समय यस्तो पनि थियो, साम्राज्ञीलाई फिल्ममा साइन गराउन निर्माताको ताती लाग्थ्यो । भलै सबै निर्माता÷निर्देशकको रहर पूरा हुन सकेन । पहिलो फिल्मको व्यवसायिक सफलता र अभिनयको प्रशंसाले साम्राज्ञीको करिअर चम्किएको थियो। दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि व्यवसायिक रुपमा हिट भइदिँदा उनलाई फिल्मवृत्तमा कतिपयले ‘नम्बर वान नायिका’को ट्याग समेत दिए । तर, त्यसपछि भने उनको उकालो यात्रामा ‘ब्रेक’ लागेको छ ।
तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ औसतमात्रै चलेपछि उनको ओरालो यात्रा सुरु भयो । यस वर्ष प्रदर्शित ‘लण्डन टू पेरिस’सम्म आइपुग्दा उनको फिल्म फ्लप संख्या अत्यासलाग्दो छ । पछिल्लो केही वर्षयता साम्राज्ञी आफ्ना फिल्मको बक्स अफिस रिपोर्टले बेचैन छिन् । न त उनको फिल्मले राम्रो समीक्षा नै पाउन सकिरहेको छ । गएको ६ वर्षमा उनका ७ वटा फिल्म बक्स अफिसमा हरिबिजोग भएका छन् । ‘तिमीसँग’, ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’, ‘तिम्रो मेरो साथ’, ‘ह्यारी कि प्यारी’ र ‘लण्डन टू पेरिस’ उनका ‘सुपरफ्लप’ फिल्महरु हुन् ।
गत वर्ष आएको ‘नाङ्गो गाउँ’ले भने साम्राज्ञीलाई केही राहत दियो । तर, यसमा सहायक अभिनेत्री भएकाले सफलताको ‘श्रेय’ उनले पाउन सकिनन् । कुनै बेला ‘नम्बर वान नायिका’को ट्याग पाएकी उनी यतिबेला फिल्म क्षेत्रमा टिक्नकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा आइपुगेकी छन् । र, अभिनयमा पनि उनले आफ्नो सशक्त प्रभाव छाड्न सकेकी छैनन् । यो उनका लागि चिन्ताजनक विषय हो ।
फिल्मवृत्तमा साम्राज्ञीको स्टारडम झनै कमजोर बनेको विश्लेषण हुन थालेको छ । साम्राज्ञीको हातमा अब ‘रुमानी रंगहरु’ नामक फिल्ममात्रै बाँकी छ। यो फिल्मबाट पनि निर्देशकले हात झिकिसकेका छन् । अब छायांकन कहिलेबाट सुरु हुन्छ, अत्तोपत्तो छैन ।
बक्सअफिसमा निरन्तर फिल्म असफल भएपछि उनीमाथि लगानी गर्न मेकरहरु अब सहजै तयार छैनन् । यस्तो अवस्थामा उनलाई आफ्नो स्टारडम फर्काउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । फिल्मको असफलताले रन्थनिएकी साम्राज्ञीलाई ‘इट्स माइ शो’ विवादले झन् तनाव थपेको छ । यो अवस्थाबाट बाहिर निस्कन उनलाई एउटा सोलो हिट फिल्मको खाँचो छ ।
त्यसो त आफ्नो अभिनयमा विविधतामा देखाउन उनी पनि आफ्नो रोमान्टिक र चकलेटीको हिरोइन छवीबाट बाहिर निस्कन चाहन्छिन्। तर, त्यस्तो पात्रमा कसैले अफर नगरेको उनी स्वयम् बताउने गर्छिन् । यसरी करिअरको ग्राफ ओरालो लाग्दै गएपछि चिन्तित भएकी साम्राज्ञी पनि सायद यतिखेर मनमनैमा गुन्गुनाइरहेकी छिन्, ‘सोचेझै जीन्दगी रैनछ…।’