काठमाडौं । सिरहामा गाउँनजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
नरहा गाउँपालिका ३ खोरियाटोल नजिकै ग्राभेल मफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय ६ वर्षीय राहुल मण्डल ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।
सोमबार करिब ११ बजेदेखि हराएका दुवै बालकलाई प्रहरीको सहयोगमा राति अबेरसम्म खोज गर्दा फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
आज बिहान गाउँकै एक जना खेत खन्न जाँदा शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए ।
यस क्षेत्रमा स्थानीयले ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर वर्षेनी बाल बालिकाको मृत्यु हुने गरेको छ ।