काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता गठबन्धन हुने निश्चित भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्री हुने गरी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार पहिला ओली प्रधानमन्त्री बन्ने छन् भने चुनावी सरकारको नेतृत्व देउवाले गर्ने भएका छन् ।
सोमबार बिहान आफैले प्रधानमन्त्री बनाएको पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चार घण्टा लामो छलफल गरी बाहिरिएका अोलीले राति कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमति गरेका हुन् ।
आफूलाई प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरेका प्रधानमन्त्रीले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा सत्ता निरन्तरता हुने ब्रिफ्रिङ गरेका थिए ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले भनेकी थिइन्, ‘प्रधानमन्त्री ज्यूले केही ब्रिफ्रिङ गर्नु भो हामीलाई, बाहिर मिडियामा आएको जस्तो हैन, जति पनि बाहिर आएको जुन खालको प्रचार भएको छ यो असत्य हो, यो गठबन्धन लामो समय जाने छ, मिडियामा आएको खालको जस्तो स्थिति हैन ।’
यसबीच ओलीले प्रधानमन्त्रीसँग कुरा गरेको केही घण्टामा ‘यू टर्न’ भए । कांग्रेसले साथ दिने भएपछि ओली आफै सरकारको नेतृत्वमा जाने भएका हुन् ।
ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित नौ वटा मन्त्रालय लिने सहमति भएको छ । यस्तै, कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने गरी सहमति भएको छ ।
यसबाहेक बाँकी मन्त्रालयका बारेमा दुवै पार्टीका नेताहरू मौन रहेका छन् भने सहमतिमा कुनै जानकारी खुलाइएको छैन ।
यस्तै, सहमतिमा एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख गरेको छ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।
मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको छ । यो सहमतिसँगै बाँकी मन्त्रालयहरू पनि मधेसवादी दललाई दिने संकेत गरिएको छ ।
यसैबीच कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा भएका दलहरूको बैठक आह्वान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेक, तीन वटा मधेसवादी दलहरु रहेका छन् । जसमा जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।