काठमाडौं । सोल्टिमोडस्थित पाँचतारे होटल हायात प्लेससमा फुड डेलिभरी गर्न गएका राइडरमाथि अपमान गरी दुर्व्यवहार भएको छ ।
चप्पल लगाएर केक पुर्याउन गएको भन्दै केकसेवाका राइडरमाथि दुर्व्यवहार भएको हो । राइडरले चप्पल लगाएर होटलमा गएको भन्दै गार्डले दुर्व्यवहार गरेको केकसेवाले सूचना जारी गरी जानकारी गराएको छ ।
मुलुकी फौजदारी संहितामा कसैको ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनी उल्लेख गरिएको छ ।
संहिताको परिच्छेद १० मा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर’ विषय उल्लेख गरिएको छ । तर, केकसेवा डटकमबाट होटलमा बसेका पाहुनालाई केक डेलिभरी गर्न गएका राइडरमाथि गार्डले अपमान गरी सेवा प्रदान गर्न अस्वीकार गरेका थिए ।
गत असार १२ गते भएको घटनामा केकसेवाले खण्डन गरेको थियो । तर, यसबारे होलटले कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबीच कुनै पनि होटलले प्रवेश गर्न अनिवार्य ड्रेस कोड उल्लेख भएको पाइँदैन । होटलमा जुनसुकै वर्गका मानिस प्रवेश गर्ने भएकाले यसबारे ध्यान दिएको देखिदैन । तर, स्टार होटलले दिन सक्ने सानो सेवालाई सामान्य डेलिभरी राइडरले दिन खोज्दा अपमान गरी गलत सन्देश पेश गरिएको छ ।
होटलमा बस्दै आएका पर्यटकले हायात प्लेस कोठा बुक गरेर गल्ती गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । डेलिभरी राइडरमाथि अपमानसँगै दुर्व्यवहार भएपछि केकसेवाले आफूहरूले सेवा दिन नसकेको जनाएको छ ।
यो होटल व्यवसायी गोल्यान ग्रुपको हो । हायात ब्राण्डमा बनिरहेको यो होटल पाँचतारे स्तरको अमेरिकी कम्पनी हो । गोल्यान ग्रुपमा प्रमुख पवन गोल्यान अनेक विषयमा विवादमा पर्दै आएका व्यवसायी हुन् ।