देउवालाई फकाउँदै प्रचण्ड-Sutra News

देउवालाई फकाउँदै प्रचण्ड

वर्षमान र जनार्दनसँगै माओवादी चार नेता तारन्तार बुढानीलकण्ठमा, माधव नेपाल पनि दूत बनेर छलफलमा

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का बिचमा भएको सहमतिलाई टुटाउन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय बनेका छन् । प्रचण्डले आफ्नो पार्टीसँगै अन्य दलका नेताहरूलाई पनि कांग्रेस–एमाले सहमति तोडाउन सक्रिय बनाएका छन् ।



प्रचण्डले विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाएर सहमतिलाई तोड्ने प्रयास बढाएका छन् । माओवादी केन्द्रका एक पदाधिकारीले नेताले बताएअनुसार संवैधानिक प्रक्रियाबाटै प्रधानमन्त्री बन्नको लागि देउवालाई प्रस्ताव गरिएको छ ।

“हाम्रो दल स्वभाविक सानो छ, ठूला दल नमिल्दा हामीले अवसर पाएको हो, यो लुकाउने विषय होइन”, ती पदाधिकारीले भने, “देउवालाई स्पष्टरुपमै संवैधानिक प्रक्रियाबाटै तपाइँ प्रधानमन्त्री हुनुस्, हामी सघाउँछौँ भनेका छौँ ।”

यद्यपि, माओवादी केन्द्रबाट गरिएको प्रस्तावलाई सकारात्मक भनेपनि देउवाले कुनै निर्णय नदिएको ति नेताले बताए । माओवादी केन्द्रले विशेषगरी संविधान नै मिचेर दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने तर्फ उद्धत नहुन देउवालाई आग्रह गरेको छ ।

“संविधानको धारा ७६ (२) अनुसार प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, अब बन्ने प्रधानमन्त्री ७६ (३) अनुसार हुने हो, यस्तोमा एमालेले नेतृत्व पाउने अवस्था छैन”, ति नेताले भने, “संविधान मिचेर बनाउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । देउवाले पनि सो विषयमा सकारात्मक जवाफ दिनुभएको छ ।”

माओवादी केन्द्रबाट उप-महासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतसहित सचिव देवेन्द्र पौडेल देउवालाई फकाउन जुटेका छन् । चार नेताले सभापति देउवासहित कांग्रेसका दोस्रो तहका नेताहरूसँग पनि निरन्तर छलफल गरिरहेको ती नेताले बताए ।
मंगलवार मात्रै पनि माओवादी केन्द्रका नेताहरूले दुई चरणमा छलफल गरेका छन् ।

योबीच प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नेतासँगै देउवालाई मनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि पठाएका छन् । पार्टीको महाधिवेशनकै बिचमा अध्यक्ष नेपालले बुढानीलकण्ठ पुगेरै देउवासँग छलफल गरेका छन् ।

शनिवार दिउँसो देउवा–ओलीबीच सहमति भएलगत्तै अध्यक्ष नेपाल प्रचण्डको आग्रहमा देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । उक्त दिन दुई नेताबिच सकारात्मक छलफल हुन सकेको थिए ।

यद्यपि, सहमतिमा हस्ताक्षर भएपछि पनि मंगलबार राति अध्यक्ष नेपालले देउवालाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डकै आग्रहमा अध्यक्ष नेपालले सभापति देउवालाई उनकै निवासमा पुगेर भेटेका हुन् ।

मंगलवार रातिको छलफल सकारात्मक भएपनि निष्कर्ष ननिस्केको नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन आफूहरू तयार रहेको सूचना अध्यक्ष नेपालमार्फत पठाएका थिए ।

कांग्रेस र एमालेका बिचमा सरकार गठनसँगै अन्य विषयमा पनि सहमति भएका छन् । दुई दलबिच सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर भएको थियो । संसद्का दुई ठूला दलबिच सहमति भएलगत्तै सरकार गठन हुने बुझाई नेताहरूमा थियो ।

यद्यपि, सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले संवैधानिक व्यवस्थाको उपयोग गरी कांग्रेस–एमाले सहमतिलाई अप्ठ्यारो पार्ने दिशामा आफूलाई प्रस्तुत गरेको छ । माओवादीले केन्द्रले तत्काल सरकार नछाड्ने र एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने तयारी गरेको छ । जुन रणनीतिअनुसार प्रधानमन्त्री प्रचण्डले देउवालाई मनाउन प्रयास थालेका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट