नीता ढुंगाना भन्छिन्- नेपाली कलाकारले नगरेको रोल भारतीयले गरें-Sutra News

नीता ढुंगाना भन्छिन्- नेपाली कलाकारले नगरेको रोल भारतीयले गरें

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन अन्तिम चरणमा पुगेको छ । चार दिन सेड्युल राखिएको फिल्मको गत सोमबारदेखि अन्तिम चरणको छायांकन भइरहेको हो । फिल्ममा नीता ढुंगाना निर्मात्रीसँगै अभिनेत्री रहेको नेपालसँगै भारतीय कलाकारहरूले अभिनय गरेका छन् । यसमा दक्षिण भारतीय फिल्ममा देखिने प्रदीप रावत, सुनील वर्मा, अली, ब्रम्मानन्दम लगायतका कलाकार छन् ।



नेपालमै कलाकार हुँदा हुँदै भारतीयलाई किन रोजियो त ? यस प्रश्नमा निर्मात्री ढुंगानाले संयोग भनेकी छिन् । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘आफ्नो प्राथमिकतामा सधैं नै नेपाली कलाकारहरू नै परेका हुन्, म र मेरो टिमले पहिला नेपाली कलाकारलाई नै आग्रह गरेका हौँ । प्रस्ताव गरिएका कलाकारले काम गर्न नमानेपछि भारतीय कलाकारलाई अभिनय गराउने सोच आएको हो । मैले पहिले प्रदीप राउत सर, सुनील सरलाई अफर गरेको भूमिका नेपालका केही नाम चलेका कलाकारहरूलाई नै अफर गरेको थिएँ । तर, उहाँहरूलाई खोई के कुरा चित्त बुझेन, गर्नुभएन । यसले हाम्रो बजार विस्तारमा समेत मदत गर्छ । हामी नयाँ बजार खोज्न प्रयाशरत छौँ ।’

यस्तै उनले अघि थपिन्,‘मैले नेपाली कलाकार नभेटेर बलिउडका कलाकारहरूलाई अफर गरेको होइन । मेरो प्राथमिकतामा पहिला नेपाली कलाकार नै हो । यो फिल्ममा पनि दर्जनौं नेपाली कलाकारहरू हुनुहुन्छ । छिमेकी राष्ट्रबाट पनि मैले बुलन्द कलाकार नै लिएको छु । जसले नेपाली फिल्म क्षेत्र र फिल्मको व्यापारका लागि पनि केही सहयोग गरोस् भन्ने लागेको छ । भारतमा पनि यो फिल्मले गज्जबको व्यापार गरोस् भन्ने हाम्रो अपेक्षा छ ।’

यो फिल्म निर्माणका क्रममा निकै धेरै दुःख भएको उनको तर्क छ । २ बर्षदेखि यही फिल्मका लागि काम गरेको उनले सुनाइन् । कुनै समय फिल्म नै सकिँदैन कि भन्ने खालका चर्चा पनि भएको तर अहिले लगभग काम सकिएको उनले सुनाइन् ।

नीताले भारतीय फिल्म ‘गजनी’ भिलेन प्रदीप रावत र फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् । उनले फिल्म ‘ह्रस्व दीर्घ’को कथावस्तु मजबुत रहेको बताइन् । आफूले निर्देशकसँग खुबै झगडा गरेको पनि बताइन् । फिल्मलाई नै उत्कृष्ट बनाउनका लागि कहिलेकाही आफ्ना श्रीमान् हरिहर अधिकारीसँग पनि झगडा परेको उनको भनाई छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चन्द्र पन्त निर्देशक रहेको फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दीसहित तीन भाषामा यो फिल्म आगामी असोज ३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट