अप्ठयारोमा मुकुल, रास्वपाभित्र नयाँ महामन्त्रीमा सन्तोष परियारको चर्चा !-Sutra News

अप्ठयारोमा मुकुल, रास्वपाभित्र नयाँ महामन्त्रीमा सन्तोष परियारको चर्चा !

बुधबार, १९ असार २०८१

बुधबार, १९ असार २०८१

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्तरिक विवादले चर्चामा छ । महामन्त्री डा. मुकुल ढकालको समिक्षा प्रतिवेदनलाई लिएर केही दिनदेखि नै रास्वपाभित्र रडाको चलिरहेको छ ।



आफूले तयार गरेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने पहिलो माग राखेका महामन्त्री ढकालले केन्द्रीय समिति बैठकलाई लाइभ प्रसारण गर्नुपर्ने माग राखे पनि सम्बोधन भएन । उनी बाहेकका केन्द्रीय सदस्यले पार्टीको आन्तरिक बैठक लाइभ नगर्ने पक्षमा मत जाहेर गरेपछि ढकाल हरियो माक्समाथि कालो टेप टाँसेर युद्धमा हारेको सिपाही झैँ मुन्टो निहुराएर पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भए ।

महामन्त्री ढकालले तयार गरेको समीक्षा प्रतिवेदनमा पार्टी संकट उन्मुख अवस्थामा पुगेको बताएका छन् । उनले पार्टी संकटमा पुग्नुको कारण नै स्वयम् पार्टी सभापति भएको बताएका छन् । अर्कोतर्फ ढकालले पुराना दलसँग गरिएको सत्ता सहकार्यप्रति असन्तुष्टि मात्रै पोखेका छैनन् विकल्पको रुपमा बालेनसँग सहकार्य गरिनुपर्ने तर्क पनि गरेका छन् । उनका अनुसार बालेनसँग सहकार्य गरिएमा मात्रै पार्टी पुरानै अवस्थामा फर्किन सम्भव छ ।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न प्रतिवेदनसँगै जोडिएका विषयमा बेग्लै प्रस्ताव पनि तयार गरेका थिए । यद्यपि, ६ पृष्ठको उनको प्रस्तावले बैठकमा औपचारिकरुपमा प्रवेश पाएन । उनलाई प्रस्ताव राख्न पार्टी सभापति लामिछानेले नै रोके ।

जहाँ उनले आफूमाथि गर्न खोजिएको कारबाहीका बारेमा मात्रै बोलेका छैनन्, पार्टी निर्माणको विषयमा पनि बोलेका छन् । ढकालले ‘रवि पार्टी’बाट राष्टि«य स्वतन्त्र पार्टी बनाउनुपर्ने माग गरेका छन् । जसका निम्ति उनले चार बुँदे कार्ययोजना पनि प्रस्तुत गरेका छन् ।

तर, आफ्नै प्रतिवेदन र प्रस्तावले महामन्त्री ढकाल भने यतिखेर एक्लिँदै गएका छन् । पार्टीभित्र उनको विकल्प खोज्न स्वयम् लामिछाने मात्रै नभइ अन्य नेताहरु पनि तयार देखिएका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा ढकालको विकल्प खोज्नुपर्ने चर्चा चलेको थियो । बैठकमा बोल्ने सदस्यहरुले ढकालको ठाउँमा सन्तोष परियारलाई पार्टी महामन्त्रीको जिम्मेवारी दिनुपर्ने कुरा उठेको छ ।

ढकाललाई अनुशासनको कारबाही गर्दै जिम्मेवारीबाट हटाउनुपर्ने तर्क नेताहरुको छ । जसबारे केहीले नेताले सार्वजनिकरुपमै पनि अभिव्यक्ति दिएका छन् ।

पार्टी महामन्त्रीको जिम्मेवारीमा रहेका ढकालले पार्टीलाई नै कमजोर पार्नेगरी र व्यक्तिगत केन्द्रीत बनाएर प्रतिवेदन तयार गरेको र सँगै मिडियाबाजी गरेको नेताहरुको आरोप छ ।

रास्वपाभित्रको राजनीतिक घटनाक्रमलाई हेर्दा, ढकाल लामो समय महामन्त्रीको जिम्मेवारीमा रहिरहलान् भन्न सकिने स्थिति छैन ।

सम्बन्धित समाचार

आफूविरुद्ध केन्द्रीत बनाइएपछि रविले रोके मुकुलको प्रस्ताव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट