काठमाडौं । नयाँ सरकार गठनमा जुटेको नेकपा (एमाले)ले मन्त्रीहरुलाई राजीनामा गराउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार पूर्ण अल्पमतमा परेको छ । बुधबार एमालेले समर्थन फिर्ता लिँदै आठ मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन लगाएको थियो ।
एमालेले समर्थन फिर्ता लिएसँगै अन्य सत्ता साझेदार दलहरु के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । बुधबार बैठक बसालेर मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि रास्वपा अडिएको छ । उसले प्रधानमन्त्रीलाई अन्तिमसम्म सघाउने निर्णय गरेको छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत लिन सहयोग गर्ने निर्णयमा रास्वपा पुगेको छ ।
यद्यपि, रास्वपाले प्रचण्डलाई सघाउने निर्णय गरेको भएपनि अर्र्को सत्ता साझेदार जसपा भने सरकारबाट बाहिरिने तयारीमा पुगेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईले आजै मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिने बताए । उनका अनुसार जसपा कांग्रेस–एमाले नयाँ गठबन्धनको पक्षमा उभिएको छ ।
“एमाले के गर्छ भन्ने निर्णय कुरेका थियौं, उहाँहरु बाहिरिनु भयो, हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गर्छ, हामी पनि बाहिरिन्छौं”, जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने, “हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ ।”
यता, एकीकृत समाजवादी आफ्नै महाधिवेशनको कारण सरकारबारे निर्णयमा पुगेको छैन । एकीकृत समाजवादीले महाधिवेशन सकिएसँगै निर्णय लिने तयारी गरेको छ । उसले कसको पक्षमा उभिने निर्णय नलिएको भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले केही मन्त्रीसहित आउन अध्यक्ष माधव नेपाललाई आग्रह गरिसकेका छन् ।