पश्चिमलाई धक्का दिने गरी गठबन्धन बनाउने रणनीतिमा जुटे पुटिन र सी-Sutra News

पश्चिमलाई धक्का दिने गरी गठबन्धन बनाउने रणनीतिमा जुटे पुटिन र सी

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडाैं । रुस र चीनका नेताहरू पश्चिमविरोधी गठबन्धनलाई बलियो बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयासमा क्षेत्रीय सम्मेलनका लागि बुधबार कजाकिस्तानमा थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन साङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठकमा सहभागी हुन बुधबार बिहान कजाकिस्तानको राजधानी अस्ताना आइपुगे । बेइजिङको नेतृत्वमा रहेको क्षेत्रीय ब्लक एससिओले मध्य एसिया, भारत र इरानलाई समेट्छ ।



सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि मस्को र बेइजिङले उनीहरूको राजनीतिक, सैन्य र आर्थिक सम्बन्धलाई गहिरो बनाएका छन् ।

मङ्गलबार कजाकिस्तान पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा यो जोडीले एससिओलाई युरेसियामा आफ्नो रणनीतिक चासोलाई अगाडि बढाउने महत्त्वपूर्ण मञ्चका रूपमा हेरेको छ । “हामी यो सङ्गठनभित्र साझेदारी सहयोगलाई अत्यन्त धेरै महत्त्व दिन्छौँ”, क्रेमलिनका सहयोगी युरी उसाकोभले पुटिनको आगमनअघि रुसी राज्य मिडिया आउलेट्सलाई भने, “एससिओ, साथै ब्रिक्सको दोस्रो प्रमुख सङ्गठन नयाँ विश्व व्यवस्थाको मुख्य स्तम्भ हो, यो वैश्विक मामिलामा वास्तविक बहुपक्षवाद स्थापना गर्ने सन्दर्भमा गतिशील छ भन्ने हामी विश्वास गर्छौं ।”

रुस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गरेका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसै साताको प्रारम्भमा एससिओ शिखर सम्मेलनले ‘सबै पक्षबीच अधिक साझा सहमति बनाउन सहयोग गर्ने, सदस्य मुलुकहरूको सुरक्षा, स्थिरता र विकासलाई बढावा दिन योगदान गर्ने र विश्वमा स्थायी शान्ति र साझा समृद्धिलाई अगाडि बढाउने’ मा बेइजिङको विश्वास रहेको बताएका थिए ।

रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही दिनअघि ‘कुनै सीमा छैन’ रणनीतक साझेदारीमा हस्ताक्षर गरे पनि मस्को र बेइजिङ मध्य एसियाली क्षेत्रमा प्रभावका लागि प्रतिद्वन्द्वी बनेका छन् ।

कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानसहितका पाँच मुलुक पूर्वसोभियत गणतन्त्र हुन् र रुससँग उनीहरूको ऐतिहासिक सांस्कृति, भाषिक र आर्थिक सम्बन्ध छ ।

तर चीनको बढ्दो आर्थिक शक्ति र यस क्षेत्रमा व्यापक लगानीले रुसी प्रभावलाई चुनौती दिएको छ । मध्य एसिया चीनको प्रमुख बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय पूर्वाधार विकास परियोजनाका लागि महत्त्वपूर्ण छ । यो क्षेत्र प्राकृतिक स्रोतले समृद्ध छ तथा चीन र युरोपबीच मालसामानको स्थल ढुवानीका लागि महत्त्वपूर्ण छ ।

युक्रेनमाथि रुसको युद्धलाई परम्परागतरूमा मस्कोसँग संलग्न भएका यस क्षेत्रमा अन्य शक्तिहरू प्रवेश गर्ने अवसरका रूपमा पनि हेरिएको छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट