काठमाडौं । टी २० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम बिहीबार बिहान नयाँ दिल्ली पुगेको हो ।
वेष्ट इण्डिजमा जुन २९ मा सम्पन्न टी २० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।
विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्ण रुपमा बन्द भएको थियो ।
दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आज प्रधानमन्त्रीको सम्मानपछि भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ ।
मुम्बईमा आज क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । यस अवसरमा यसअघि बोर्डले घोषणा गरेको १२५ करोड रकमसमेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।
नियमित उडान रद्ध भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारलाई बारबाडोसबाट सीधै दिल्ली ल्याएको थियो ।