मुकुलले औँल्याए इलाम २ मा रास्वपाले हार्नुका ११ कारण- गाली गर्नेलाई टिकट दिइनु गलत-Sutra News

मुकुलले औँल्याए इलाम २ मा रास्वपाले हार्नुका ११ कारण- गाली गर्नेलाई टिकट दिइनु गलत

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले इलाम–२ को उपनिर्वाचनमा रास्वपा पराजित हुनुपछाडी ११ कारण औँल्याएका छन् । ३८ जिल्लाको भ्रमणपछि ढकालले तयार पारेका समीक्षा यात्रा प्रतिवेदनमा उनले उपयुक्त उम्मेद्वार छनौट गर्न नसक्नुलाई पनि पराजयको कारण भनेका छन् ।



‘केही दिन अगाडिमात्र पार्टीलाई गाली गरिरहेको व्यक्तिलाई टिकट दिइनु गलत रहेको बुझाई छ । उपयुक्त उम्मेद्वार सिफारिस गर्नु, आवेदन फारम भर्न लगाउनु, सबै पार्टी सदस्यको जिम्मेवारी हुने कुरा बुझाइएन,’ मुकुलको प्रतिवेदनमा भनिएको छ ।

प्रचारप्रसार गरेकै भरमा चुनाव जितिन्छ भन्ने भ्रमका कारण पनि रास्वपाले यस्तो परिणाम भोग्नुपरेको उनको निष्कर्ष छ । ‘मन्त्रीहरु चुनावी प्रचारमा लावालस्कर लागेर जानु, पार्टीले सम्पूर्ण शक्ति खर्चिको देखिनु र अनावश्यक तडक भडकले जनतामा यिनीहरु प्नि उस्तै हुन् भन्ने भ्रम देखियो । प्रचारप्रसार गरेकै भरमा चुनाव जितिन्छ भन्ने भ्रममा प-यौं,’ प्रतिवेदनमा उल्लेख छ ।

मंसिरको निर्वाचनमा त्यही क्षेत्रबाट मत हालेका मतदाताले उपनिर्वाचनमा नहालेको र गुमाएको मतको कारणबारे समीक्षा आवश्यक रहेको उनले सुझाएका छन् । ‘इलाम क्षेत्र. नं २ मा मंसिरको चुनावमा आएको प्रत्यक्ष मत १३०० हाराहारी थियो भने समानुपातिक मत ४६०० हारहारी थियो,’प्रतिवेदनमा मुकुलले भनेका छन्, ‘उपचुनावमा त्यही क्षेत्रबाट ५ हजार आसपास मत आयो । यो मतलाई मंसिरको चुनावको १३०० लाई दाँज्ने वा प्रत्यक्षको ४६०० सँग दाँज्ने कुरा महत्वपूर्ण छ । समानुपातिक मत हालेका कति जनाले फेरि घण्टीमा मत हाले र प्रत्यक्षमा मत हालेका कति जनाले पुनः घण्टीमै मतदान गरे, पार्टीका लागि आजको दिनमा महत्वपूर्ण छ । जुन कोणबाट हेरे पनि, हामीले केही मत कमायौं र केही मत गुमायौं पनि । कमाएको मतभन्दा गुमाएको मत किन गुमाइयो ? यसबारेमा हामीले सोच्नै पर्ने हुन्छ । ’ इलाम २ मा रास्वपाका तर्फबाट संचारकर्मी मिलन लिम्बु उम्मेद्वार बनेका थियो ।

यस्ता छन् मुकुलले बुद्दागत रुपमा औँल्याएका ११ कारण :
१. उपचुनाव हुने थाहा हुने बित्तिकै तयारी नगरिएको
२. मंसिरभन्दा कति मत धेरै आयो, निर्धारण गर्न जरुरी
३. उम्मेद्वार छनोट चित्त बुझेन
४. इलाम क्षेत्र न. १ का पार्टी सदस्यलाई चासो दिइएन
५.स्थानियभन्दा बाहिरका बढी चुनावी प्रचारप्रसारमा
६. सहकारीको भ्रम चिर्न नसक्नु
७. साम्प्रदायिक टिप्पणी भाइरल हुनु
८. संगठनको कमी
९. उपनिर्वाचनका ताका सरकारबाट केही फाइल खोल्न सकिएको भए ।
१०. इलामका मुद्दा चुनावी प्रचारमा प्राथमिकतामा परेनन्
११. अनावश्यक शक्ति प्रदर्शन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट