मुकुलको प्रतिवेदन भन्छ– रास्वपा अन्य पार्टीको डम्पिङ साइट, सस्तो लोकप्रियतालाई प्राथमिकता-Sutra News

मुकुलको प्रतिवेदन भन्छ– रास्वपा अन्य पार्टीको डम्पिङ साइट, सस्तो लोकप्रियतालाई प्राथमिकता

बिहिबार, २० असार २०८१

बिहिबार, २० असार २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रास्वपा अन्य पार्टीको डम्पिङ साइट बनिरहेको निष्कर्ष निकालेका छन् । ३८ जिल्लाको भ्रमणपछि ढकालले तयार पारेका समीक्षा यात्रा प्रतिवेदनमा यो कुरा आंशिकदेखि मध्यमस्तरसम्म सही रहेको विश्लेषण गरिएको उल्लेख छ ।



‘त्यतिमात्र होइन, पुराना पार्टीले केही व्यक्तिलाई नियोजित रुपमा नै पार्टीमा पठाई अन्तिम मौकामा पार्टी छोडी पार्टीको निरन्तर बेइज्जती गराउने श्रृंखला भविष्यमा अझ बढी देख्न सकिन्छ ,’ मुकुलको प्रतिवेदनमा उल्लेख छ ।

मुकुलको प्रतिवेदनले रास्वपामा तटस्थवाद, तदर्थवाद र यथास्थितीवाद हाबी भएको उल्लेख छ। ‘पार्टीमा अस्थायी चरित्र हाबी भएको, हरेक विषयको अस्थायी समाधान मात्र खोजिरहेको छ ,’ मुकुलले प्रतिवेदनमा लेखेका छन्, ‘कुनै पनि कुरा हुन्छ, समस्या आउँछ, त्यसलाई अस्थायी समाधान मात्र खोज्ने प्रवृत्ति देखापरेको छ । अहिलेलाई यो गरिहालौं र पछि दीर्घकालिन केही सोचौंला भन्ने हुन्छ र ? कहिले पनि दिर्घकालिन समाधानका बारेमा हामी बस्दैनौं ।’

कुनै पनि विषयमा ठोस निर्णय लिन पार्टी चुकिरहेको मुकुलको निष्कर्ष छ । ‘राम्रो भएका बेला अप्रिय निर्णय गर्दैनौं, भन्छौँ– अहिले राम्रो छ, किन माहोल बिगार्ने । नराम्रो भएका बेला पनि अप्रिय निर्णय गर्दैनौं, भन्छौँ– अहिले नराम्रो छ, माहोल थप किन बिगार्नै ? आखिर कहिले गर्ने ठोस निर्णय ?,’ प्रतिवेदनमा उनले प्रश्न उठाएका छन् ।

मुकुलले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै रास्वपामा अरुलाई गाली मात्र गर्ने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन् । ‘आफ्नो भिजन, प्लान केही देखाउन सकिएन,’ रास्वपाका अनगिन्तिी कमजोरी औँल्याइएको प्रतिवेदनमा भनिएको छ,
‘सुरुवाती यात्रामा राजनीति गर्न काम नछोडौं भनियो तर अहिले राजनीति गर्न काम छोड्न पर्ने बाध्यता भइसकेको छ । सस्तो लोकप्रियतालाई प्राथमिकता दिइयो । फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो । ’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट