काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गरेको बजेट प्रतिनिधिसभामा असार ११ गते पारित भएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित दलहरूको सत्ता गठबन्धन परिवर्तन भएसँगै बजेट पारित हुनेमा शंका उत्पन्न हुँदै आएको थियो । यसैबीच शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सर्वसम्मत रुपमा बजेट पारित भएको हो ।