अन्ततः गले प्रचण्ड, विश्वासको मत लिन संसद सचिवालयलाई पत्र-Sutra News

अन्ततः गले प्रचण्ड, विश्वासको मत लिन संसद सचिवालयलाई पत्र

शुक्रबार, २१ असार २०८१

शुक्रबार, २१ असार २०८१

काठमाडौं । तत्कालै विश्वासको मत नलिने र संवैधानिक व्यवस्थाअनुसार एक महिनापछि संसद फेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः गलेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच नयाँ गठबन्धन बनेसँगै पूर्ण अल्पमतमा परेका प्रचण्ड लगत्तै विश्वासको मत लिने निर्णयमा पुगेका छन् ।



प्रधानमन्त्री प्रचण्डले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जसको लागि उनले शुक्रबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने प्रस्ताव राखिदिन अनुरोध गर्दै पत्र लेखेका हुन् ।

तत्कालिन नेकपा (एमाले)सँगको सहकार्यमा प्रचण्ड २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । योबीचमा विभिन्न चरणमा गरी उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

डेढ वर्षको बीचमा प्रधानमन्त्री प्रचण्डले तीन पटक समीकरण फेरिसकेका छन् ।

यद्यपि, पछिल्लो कांग्रेस र एमाले गठबन्धन निर्माणसँगै भने प्रचण्ड विश्वासको मत नपाउने अवस्थामा देखिन्छन् ।

कांग्रेस र एमाले गठबन्धनको पक्षमा दुई तिहाई बढी मत देखिन्छ । दुई दलसँग सहज बहुमत रहेका बेला अन्य साना दलले पनि सघाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट