उपत्यकाका नदीहरूमा पानीको बढ्यो बहाव, प्रहरी थाल्यो गस्ती-Sutra News

उपत्यकाका नदीहरूमा पानीको बढ्यो बहाव, प्रहरी थाल्यो गस्ती

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला नदीमा पानीको बहाव बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।



काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।”

उनले वागमती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए ।

तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, “यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।”

वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट