काठमाडौं । केन्द्रीय सरकारमा भएको सत्ता गठबन्धन परिवर्तनसँगै मधेस प्रदेशमा पनि सत्ता गठबन्धन भत्किएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरे ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको जनाएको छ । नेकपा एमाले–नेपाली कांग्रेसले सत्ता गठबन्धन बनाउने सहमती गरेसँगै मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएका हुन् ।
उनले मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन लागेको जनाइएको छ । ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
आज उनले विश्वासको मत लिँदै छन् । त्यसअघि चार दलका छ मन्त्रीलाई हटाएका उनले कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने सम्भावना बढेको छ ।