अविरल वर्षाबाट काठमाडौंको जनजीवन प्रभावित-Sutra News

अविरल वर्षाबाट काठमाडौंको जनजीवन प्रभावित

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ ।



कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुन सक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपति क्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट