दसैँ–तिहारको च्याँखे थाप्दै निर्माता, नाफाको लोभमा घाटैघाटा-Sutra News

दसैँ–तिहारको च्याँखे थाप्दै निर्माता, नाफाको लोभमा घाटैघाटा

'आफै टिकट किनेर, आफै हाउसफुल गरेर, आफै बक्सअफिसमा ब्लकबस्टर लेख्ने प्रचलन कहिलेसम्म ? यो सब मुतको न्यानोमात्रै हो ।'

शनिबार, २२ असार २०८१

शनिबार, २२ असार २०८१

काठमाडौं । वर्षेनी सय हाराहारीमा नेपाली सिनेमा बन्छन् । तर, औँलामा गन्न सकिने केही फिल्मले मात्रै मुश्किलले लगानी उठाउँछन्, नाफा कमाउँछन् । यसपछाडी अनेक कारण होलान्, फिल्मवृत्तले आत्मसाथ गरेको एक प्रमुख कारण निर्माताबीचको अस्वस्थ प्रतिष्पर्धालाई पनि मानिन्छ ।



अझ नेपालका ठूला चाँड दशैँ, तिहार र तीज आउँदा फिल्म निर्माता र वितरकहरुबीच हुने हानाथाप देख्दा लाग्छ, यति खुशी त उनीहरु आफ्नै जन्मदिन या बिहेको मिती नजिकिदा पनि हुँदैनन् । दर्शकहरु फेस्टिभ मुडमा पनि हुने र विदा पनि लामो समय हुने कारणले नेपालका ठूला बनाउँदा मेकरहरु यही मितिमा आफ्नो फिल्म रिलिज गर्न तिकडमबाजी गर्छन् ।

को–को भिड्दैछन् यसपटक ?
पछिल्ला वर्षझै यो पटक पनि तीज, दसैँ र तिहार नजिकिएसँगै फिल्मकर्मीबीच फिल्म रिलिज डेटलाई चर्को प्रतिष्पर्धा सुरु भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष फिल्म निर्माणको संख्या बढसँगै कार्तिकसम्म हलमा नेपाली फिल्मको अभाव छैन । साउन र भदौमा भन्दा असोज र कार्तिकमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप सुरु भएको छ । प्रदर्शन मिति तोकिएका हिसाबले कार्तिक महिना सम्ममा २० फिल्म रिलिज हुने पक्का भइसकेका छन् । असोजमा दशैं र कार्तिकमा तिहार जस्ता दुईवटा ठूला पर्व पर्ने भएकाले फिल्म रिलिजको संख्यामा ठुलै बाढी आएको हो । यद्यपी अहिले घोषण गरेका केही निर्माता पछि ‘ब्याक’ हुन सक्ने सम्भावना पनि बाँकी नै छ ।

यो महिना असार २८ गते अर्थात् अबको दुई हप्तापछि फिल्म ‘घरज्वाइँ’ प्रदर्शनमा आउँदैछ भने त्यसपछिका दिनहरुमा फिल्मको बाढी नै आउन लागेको देखिन्छ ।

साउनमा महिनामा चार वटा फिल्म रिलिज हुने तरखरमा छन् । जसमा ११ गते फिल्म ‘ईश्वर’, १८ गते फिल्म ‘मोदीबेनी’ रिलिज हुँदैछन् । त्यसपछि साउन २५ गते फिल्म ‘नम्बरी सुन’ र साउन ३२ गते फिल्म ‘बुलाकी’ रि–रिलिज हुने छ । यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शनमा आएको थियो ।

त्यस्तै भदौ महिनामा तीन फिल्म प्रदर्शन हुने भएका छन् । महिनाको सुरुवातमा लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ भदौ ७ गते प्रदर्शन हुने तय भएको छ भने १४ गते फिल्म ‘वर एण्ड बधु’ रिलिज हुँदैछ । २१ गते दुई फिल्म ‘देवी’ र ‘रावायण’ भिड्ने पक्का भएका छन् । त्यस्तै फिल्म ‘तेल भिसा’ले भदौको २८ गतेलाई रिलिज मिति तोकेको छ । तर, अझै रिलिजको अत्तोपत्तो नभएको निर्माण टिम नै बताउँछन् ।

यता असोज महिनामा फिल्मको पाइपलाइन धेरै रहेको छ । महिनाको सुरुवातमै त्रिपक्षीय भिडन्त छ । जसमा असोज ३ गते विहिबार संविधान दिवसको विदा अवसर पारेर फिल्म ‘आउट लः २१९’, ‘ह्रस्व दीर्घ’ र ‘खुस्मा’ बीच प्रतिष्पर्धा हुँदैछ । तीनै फिल्मका निर्माताहरू यो मितिबाट पछि नहट्ने अड्डी कसिरहेका छन् ।

यसपछि घटस्थापनाको अवसर पारेर असोज १७ गते स्वस्तिमा खड्का र निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र फिल्म ‘सानो संसार’ जुध्ने पक्का भएको छ । लगत्तै यसको अर्को हप्ताम फूलपातीको अवसर पारेर दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुने भएको छ ।

‘धेरै विदा भएको बेला रिलिज गर्दा टन्न पैसा कमाउन पाइन्छ भन्ने लोभ हो त्यो,’ तिमल्सिना भन्छन्, ‘यो सब च्याखे थापेको हो । त्यसमा पनि सिक्वेल फिल्महरुले धाक जमाउने गरेका छन् ।’       

यता विराज भट्टको निर्देशन तथा निर्माणमा उनकै छोरा समिर भट्टलाई डेब्यु गराएर तयार पारिएको फिल्म ‘१२ गाउँ’ पनि दसैँकै मुख ताकिरहेको छ । ठ्याक्कै मिति नतोकेपनि दसैँमै रिलिज गर्ने घोषणा समेत गरिसकेको छ । सम्भवतः यो फिल्म ‘छक्का पन्जा ५’सँग जुध्ने देखिन्छ ।

यि त अहिलेसम्म दसैँमा रिलिज हुने घोषणा गरिएका फिल्मका सूची हुन् । यो सूची अझै बढ्न सम्भावना पनि छ । त्यस्तै अर्को ठूलो चाँड तिहारलाई लक्षित गर्दै कात्तिकमा पनि त्रिपक्षीय भिडन्त हुने वातावरण सिर्जना भइरहेको छ । लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १५ गतेबाट फिल्म ‘एक्टर’, ‘ज्वाइँ साब’ र ‘मायावी’ भिड्ने चर्चा छ । यद्यपी फिल्मवृत्तमा चर्चा चलेपनि ‘मायावी’ले औपचारिक रुपमा भने रिलिज मिति घोषणा गरेको छैन ।

किन भिडदैछन् निर्माता ?
फिल्म वितरक करण श्रेष्ठ फिल्म जुधाउनुपर्ने नेपाली फिल्मकर्मीको बाध्यता रहेको बताउँछन् । ‘फिल्मको निर्माणको संख्या धेरै हुन्छ, सबैलाई विदाकै बेला फिल्म चलाउने लोभ हुन्छ,’ उनले भने, ‘त्यहीभएर प्रतिष्पर्धा गर्न बाध्य हुने हो । आज मात्र हैन, पहिल्यै देखि दसैँ तिहारमा फिल्म थुपार्ने चलन चलिरहेको छ । ’

अग्रजले सुरु गरेको प्रचलनलाई अहिलेका निर्माता तथा वितरकहरुले जर्गेना गरिरहेको उनको आशय थियो । ‘चाडपर्वको समय एउटै मितिमा दुइटासम्म फिल्म प्रदर्शन गर्नु ठिकै हो,’उनी भन्छन्, ‘तर, यहाँ तीनटासम्म जुधाइदिन्छन् । यसोहुँदा हलमा फिल्मलाई शो मिलाउन गाह्रो हुन्छ । त्यसपछि रुवावासी सुरु हुन्छ ।’

यता फिल्म लेखक तथा फिल्म समीक्षक समाजका उपाध्यक्ष सामिप्यराज तिमल्सेना टन्नै पैसा कमाउने लोभका कारण फिल्मकर्मी दसैँ–तिहारमा च्याँखे थाप्न जाने बताउँछन् । ‘धेरै विदा भएको बेला रिलिज गर्दा टन्न पैसा कमाउन पाइन्छ भन्ने लोभ हो त्यो,’ तिमल्सिना भन्छन्, ‘यो सब च्याखे थापेको हो । त्यसमा पनि सिक्वेल फिल्महरुले धाक जमाउने गरेका छन् । अरु स–साना फिल्महरु चाँही ठूला फिल्म कुनै कारण रिलिज भइदिएन भने हामीले फाइदा लिनुपर्छ भनेर कुरेर बस्छन् । ’

इगोको लडाई
फिल्म जुधाउनुको कारण व्यापारमात्रै होइन, यसमा फिल्मकर्मीबीचको इगोले समेत काम गरिरहेको छ । फिल्म लेखक तिमल्सिना यसमा सहमत देखिए । ‘कतिपय समयमा कतिपय फिल्महरु इगोको कारणले पनि रिलिज भइरहेको देखिन्छ,’ तिमल्सिनाले भने, ‘उनीहरुको नितान्त व्यक्तिगत रिसिइबीले काम गरिरहेको छ । निर्देशकको निर्मातासँग अथवा कलाकारको कलाकारसँगै । जस्तो, आवरणमा हेर्दा गत जेठ १० गते रिलिज भएका दुइ फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’बीचको प्रतिष्पर्धा अनमोल र प्रदीपबीचको मात्रै देखिएपनि भित्र निर्माता र निर्देशकको इगोको कारण पनि जुधेको देखियो ।

यस्तै बेथिती असोजमा रिलिज हुने दुई तीनवटा फिल्म पनि देखिएको तिमल्सिना बताउँछन् । ‘दशैंको बेलामा धेरै फिल्महरुको चाप देखिँदैछ ,’ उनले भने, ‘मलाई लाग्छ त्यसमा पनि अलि अलि पर्सनल हिष्ट्री जोडिएको छ । नाम जोडेर नभनौं तर कुनै कुनै फिल्महरु दीपकराज गिरीलाई तनाव दिने नियतले पनि रिलिज गर्न खोजिएको देखिन्छ ।’

वितरकको चेपुवामा निर्माता
नेपाली फिल्म क्षेत्रमा वितरकहरुको इगोको चेपुवामा नयाँ निर्माताहरु पर्ने गरेको तथ्य नयाँ होइन । प्रायःनयाँ निर्माताले वितरकसँगकै सल्लाहकमा आफ्नो फिल्मको मिति तोक्ने हो । तर, वितरकले आफ्नो व्यक्तिगत स्वार्थ र इगोका कारण नयाँ निर्माताका फिल्मलाई ठूला फिल्मसँग जुधाइदिने गरेको पाइन्छ ।

‘मेरो फिल्मले पहिलो दिनमा यति करोड कमायो, उति कमायो भन्ने गरेका छन् । त्यो हल्ला गर्नेको इण्डियामा पनि विरोध भइरहेको छ । त्यहाँ पनि आलोचना भइरहेको छ । नेपालमा पनि त्यो भ्रम हो । यो सब मुतको न्यानोमात्रै हो ।

फिल्म लेखक तिमल्सिना वितरकहरु फिल्म निर्माणका क्रममा आफ्नो पैसा परेका फिल्मलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको बताउँछन् । ‘अहिलेको यथास्थिीतिमा के देखिन्छ भने हामीहरुसँग स्कृन प्रशस्त रहेछ, त्यो पाएको जति शोहरु भरिदियो भने धेरै तनाव लिनुपर्ने देखिँदैन,’ उनले भने, ‘तर, यहाँ वितरकहरुको आफ्नो पैसा परेको छ भने सहज वतावरणमा रिलिज गराइदिन्छन् । नत्र प्रतिशतको आधारमा मात्रै छ भने चाहिँ मनोमानी नै गर्छन् ।’

‘हाउसफुल देखाउन निर्माता नै टिकट बुक गर्छन्’
नेपाली फिल्मवृत्तमा ‘ओपन सेक्रेट’जस्तै रहेको एउटा तथ्य छ, जो आम दर्शकलाई थाहा नहुन सक्छ । त्यो के भने अधिकांश नेपाली फिल्मका निर्माताहरु रिलिजको पहिलो र दोश्रो दिन हलमा दर्शक नआए आफै टिकट बुक गरेर भएपनि हाउसफुल देखाइदिन्छन् । नेपाली फिल्मकर्मीको यो प्रवृत्तिलाई मुतको न्यानोको संज्ञा दिन्छन्, फिल्म लेखक तथा समिक्षक तिमल्सिना । ‘यो त नकरात्मक प्रयास नै भइरहेको छ,’ उनले भने, ‘आफै टिकट किनेर, आफै हाउसफुल गरेर, आफै बक्सअफिसमा ब्लकबस्टर लेख्ने प्रचलन एकदमै गलत हो । यसले दुई चार जना विदेशतिर बसेका नबुझ्ने सोझा दर्शकलाई झुक्याउन सजिलो होला । तर, कहिले सातवटा हल भएको ठाउँमा गएर सेल्फी खिचाएर मेरो फिल्मले बम्पर गर्यो भनेर कहिलेसम्म ठग्ने ? यसरी ठग्ने दुई तीनटा हल त बन्दै भए । अब एउटा मात्रै बाँकी छ ।’

अझै पनि अष्टनारायण हलमा यस्तो दृश्यका लागि प्रयोग गर्ने गरिएको उनको भनाई छ । ‘हिरो हिरोइनहरुले शनिबार अष्टनारायण हल गएर तीनवटा हलबाट निस्किएका मान्छे र बाटो हिँडने बटुवा सबैलाई देखाएर सेल्फी खिच्दै भयकंर चल्यो भनेर देखाउने गरेका छन् । यो डरलाग्दो प्रवृत्ति हो । यसरी आफै बुकिङ गरेर जबरजस्ती मान्छे ल्याएर, यति कमायो उति कमायो भनेर तपाईंले कहिले पनि सच्चिने मौका पाउनु हुँदैन । तपाईंको फिल्ममा के गलत भएछ ? मैले फिल्म मेकिङमा के चाहिँ गलत गरेछु भन्ने ज्ञान पनि फिल्ममेकरलाई नहुने भो । ’

‘धेरै जसो निर्मातालाई मेरो फिल्म सिंगल थिएटरमा लागिरहेको छ भन्ने थाहा पनि छैन । समग्रमा भन्नुपर्दा विकास बोर्डले लामो समय लडेर ल्याएको बक्सअफिसलाई भाडो हैन घाँडो बनाएर राखिरहेको छ ।’

भारतमा पनि यसरी कर्पोरेट बुकिङको अभ्यास रहेको र नेपालमा पनि त्यसकै सिकेको बढेको उनको भनाई थियो । ‘ इण्डियमा पनि यस्तो खालको प्रयास हुन्छन्,’ उनले भने, ‘कर्पोरेट बुकिङको नाममा इण्डियामा पनि ठूलो कलाकारको फिल्मको नाममा यसै गरिन्छ । त्यहाँ कर्मचारीलाई निशुल्क टिकट बाँड्यो । अनि मेरो फिल्मले पहिलो दिनमा यति करोड कमायो, उति कमायो भन्ने गरेका छन् । त्यो हल्ला गर्नेको इण्डियामा पनि विरोध भइरहेको छ । त्यहाँ पनि आलोचना भइरहेको छ । नेपालमा पनि त्यो भ्रम हो । यो सब मुतको न्यानोमात्रै हो । कालान्तरमा असर नै गर्छ । ’

‘घाँडो बन्दैछ बक्सअफिस’
चलचित्र विकास बोर्डको बक्स अफिस रिर्पोट सार्वजनिक नगर्दा पनि फिल्मकर्मीले जथाभावी व्यापारिक रिपोर्ट सार्वजनिक गरिरहेका छन् । भूवन केसी नेतृत्वमा आएपछि एकपटक चलचित्र विकास बोर्डले बक्सअफिसको रिपोर्ट सार्वजनिक गरेको थियो । तर, ‘छक्कापन्जा–४’को रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै निर्माता दिपकराज गिरी बोर्डविरुद्ध खनिएपछि बोर्डले अहिले बक्सअफिस रिपोर्ट लुकाउन थालेको छ ।

निर्माताहरुले नै विरोध जनाएपछि बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न नसकेको स्वीकार्छन्, बोर्डका प्रवक्ता खेतुलाल बिसी । ‘निर्माताकै विरोध भएपछि सार्वजनिक गरेका छैनौं । सार्वजनिक गर्नेबारे छलफल भइरहेको छ,’उनले भने ।

फिल्म समीक्षक तिमल्सिना उद्देश्यअनुसार कार्यान्वयनमा नआउने हो भने बक्सअफिसको कुनै औचित्य नरहने बताउँछन् । ‘जे प्रयोगका लागि भनेर स्थापित गरिएको थियो, त्यो कुनै पनि काम नगर्ने हो भने किन त्यो राख्ने ?,’ उनी भन्छन्, ‘एक त यिनीहरुले रियल टाइम डाटा पनि निकाल्न सकिरहेका छैनन् । जुन समयमा जुन हलमा टिकट काटिन्छ, बोर्डको डाटासँग तत्काल जोडिदैन । यस्तो बक्सअफिस किन राखिरहने ? खारेज गरिदिए पनि हुन्छ ।’

बोर्डले उल्टै वितरकहरुसँग डाटा मागेर बक्स अफिसको रिपोर्ट मागिरहनु लज्जास्पद भएको उनको टिप्पणी छ । ‘बोर्डले देशभर रहेका ३०–३५ वटा सिङगल थिएटरलाई बकसअफिससँग जोडन सकिरहेको छैन,’ उनले भने, ‘तिनिहरुको डाटा वितरकले दिन मन लागे दिन्छन्, नत्र दिदैनन् । धेरै जसो निर्मातालाई मेरो फिल्म सिंगल थिएटरमा लागिरहेको छ भन्ने थाहा पनि छैन । समग्रमा भन्नुपर्दा विकास बोर्डले लामो समय लडेर ल्याएको बक्सअफिसलाई भाडो हैन घाँडो बनाएर राखिरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट