संशयका बिच कांग्रेसमा दोस्रो तहका नेताहरू सक्रिय-Sutra News

संशयका बिच कांग्रेसमा दोस्रो तहका नेताहरू सक्रिय

आइतबार, २३ असार २०८१

आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच असार १५ गते सत्ता सहकार्यसँगै संविधान संशोधनसहितका विषयमा सहमति भएको थियो । जसलाई असार १७ को मध्य राति दुई दलका शीर्ष नेताहरूको बैठकले औपचारिकता दिएको थियो ।



जुन सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

तर, संवैधानिक व्यवस्थाको अन्योलताका बिच ओलीलाई नै पहिलो चरणमा प्रधानमन्त्री बनाउने गरी भएको सहमतिप्रति कांग्रेसको दोस्रो तहका नेताहरू सन्तुष्ट देखिन्नन् । नेताहरू सहमति कार्यान्वयनमा दुवै पक्ष इमानदार होलान् भन्नेमा पनि अन्योल देखिन्छन् ।

एकातिर ओलीलाई नै प्रधानमन्त्री बनाउने सन्दर्भमा कांग्रेसको दोस्रो तहका नेताहरू सकारात्मक देखिएका छैनन् भने अर्कोतर्फ दोस्रो चरणमा देउवा प्रधानमन्त्री होलान् भन्नेमा पनि अन्योल देखिन्छन् । कांग्रेसका एक पदाधिकारी सहमति कार्यान्वयनमा संवैधानिक जटिलतासँगै व्यक्तिगत शैली र प्रवृत्ति पनि बाधक रहेको बताउँछन् । विशेषगरी एमाले अध्यक्ष ओलीको शैलीप्रति उनीहरू त्रसित छन् ।

“संविधानको व्यवस्थाअनुसार ओली नै प्रधानमन्त्री कसरी होलान् भन्ने स्पष्ट छैन, अर्कोतर्फ उनको शैली र प्रवृत्तिसँगै विगत पनि सजिलो खालको छैन”, ती पदाधिकारीले भने, “सहजै सहमति कार्यान्वयन होला भन्नेमा अन्योल छ ।”

शेखरको अनौठो ‘मुभ’

कांग्रेस–एमालेबीचको सहमतिपछि कांग्रेस नेता शेखर कोइरालाको सक्रियता अनौठो शैलीमा बढेको छ । उनले योबिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो संवाद गरेका छन् । कोइरालाले शनिवार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग कोइरालाले के विषयमा छलफल गरे, त्यो सार्वजनिक भएको छैन । यद्यपि, अप्ठ्यारोमा परेका प्रचण्डलाई आहतभन्दा राहत दिन खोजेको देखिन्छ ।

कोइरालाले सार्वजनिकरूपमै दुई दलबिचको सहमति कार्यान्वयनमा समस्या औँल्याएका छन् । उनले ओली प्रधानमन्त्री बन्ने विषय संवैधानिक कोणबाट सहज नभएको कुरा सार्वजनिकरूपमा व्यक्त गरेका छन् ।

“प्रचण्डजीले आजका दिनसम्म राजीनामा दिनुभएको छैन, प्रचण्डजीले राजीनामा दिनुभएन भने संविधानतः के हुन्छ ? हामीले सोच्नुपर्ने हुन्छ, किनभने हामी संविधानलाई टेकेर जानुपर्ने हुन्छ ”, जिपी कोइराला लेबर फाउन्डेसनले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनेका छन्, “प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिने बेला कहीँ संविधानको धारा ७६(३) मा नजाओस् ।”

कोइरालाको संकेत ओलीको ठाउँमा देउवा प्रधानमन्त्री हुनसक्ने भन्ने खालको देखिन्छ । सँगै उनको जस्तै अभिव्यक्ति उनको समूहका अन्य नेताहरूले पनि व्यक्त गरिरहेका छन् ।

केहीले देउवा र ओलीबीचमात्रै भएको सहमति भन्दै असन्तुष्टि पनि जनाइरहेका छन् ।

ओलीको विकल्प खोज्दै माओवादी

कांग्रेस र एमालेबिच भएको सहमति सन्दर्भमा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले स्पष्टरूपमा ओलीको विकल्प खोजिने बताएका छन् । संवैधानिक हिसाबले पनि ओलीको विकल्प खोज्न सहज भएको शर्माको बुझाई छ ।

“जसरी हामीलाई छक्काएर धोका दिन खोजियो, यसको विकल्प खोजिन्छ, उहाँ (ओली) संवैधानिक हिसाबले पनि प्रधानमन्त्री बन्न सक्नुहुन्न, हामी विकल्पको रूपमा देउवालाई सघाउन सक्छौँ”, शर्माले भनेका छन् ।

माओवादी केन्द्र प्रधानमन्त्रीले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको प्रक्रिया हुनेमा विश्वस्त देखिन्छ । “अहिले सरकार धारा ७६ (२) अनुसार गठन भएको हो, त्यस कारण अब जाने धारा ७६ (३) को प्रक्रियामा हो, त्यो भनेको ठुलो दलले नै सरकार बनाउने हो”, शर्माले भनेका छन् ।

यस्तोमा सत्ता सहयोगी बन्नुभन्दा नेतृत्व लिनुपर्छ भन्नेमा कांग्रेसभित्रको दोस्रो तह देखिएको छ । यद्यपि, सहमतिमा हस्ताक्षर भइसकेको अवस्थामा दोस्रो तहले संवैधानिक जटिलताभन्दा बाहेकको विकल्प देखिरहेको छैन ।

“यही भइहाल्छ भन्ने स्पष्ट छैन”, कांग्रेसका ती पदाधिकारीले भनेका छन्, “यद्यपि, संवैधानिक जटिलताले नयाँ विकल्प ल्याउन सक्छ, जुन हाम्रो अपेक्षा हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट