काठमाडाैं । नेकपा (माओवादी केन्द्र) नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । साेमबार एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएकाे हाे ।
एमालेबाट प्रदेशमा मन्त्री बनेकाहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।
जम्कट्टेल नेतृत्वकाे सरकारमा एमालेका पाँच मन्त्री थिए । एमालेले आर्थिक मामिला तथा योजना, वन तथा वातावरण, खानेपानी ऊर्जा तथा सिँचाइ, स्वास्थ्य र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयकाे जिम्मेवारी लिएकाे थियाे ।
एमाले बाहिरिएसँगै जम्कट्टेल नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ । समर्थन फिर्तासँगै एमालेले मार्ग प्रशस्त गर्न समेत मुख्यमन्त्रीलाई सुझाएकाे छ ।
एमालेले नयाँ गठबन्धनअनुसार सरकार गठन गर्ने बताएकाे छ ।
यद्दपि, मुख्यमन्त्री जम्कट्टेलले भने एमालेले भनेजस्तै सहजै मार्ग प्रशस्त नगर्ने भएका छन् । उनले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रकाे बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको थियाे । मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत कहिले लिन्छन् भन्ने सन्दर्भमा भने मिति ताेकिएकाे छैन ।
एमालेकाे सहयाेगमा २०७९ पुस २६ गते जम्कट्टेलकाे नेतृत्वमा बागमती प्रदेश सरकार गठन भएकाे थियाे । याेबीचमा केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै प्रदेशमा पनि कांग्रेस र एमाले फेरिएका थिए । पछिल्लाे पटक एमाले ०८० चैत १८ गते जम्कट्टेलकाे नेतृत्वमा सरकारमा सहभागि भएकाे थियाे ।
११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सीट चाहिन्छ। बागमतीमा कांग्रेस ३७ सीटसहित पहिलो दल हो भने २७ सीटसहित एमाले दाेस्राे दल हाे । दुइ दल मिल्दा सहजै बहुमतकाे अवस्था बन्छ।