फिल्म ‘ईश्वर’: उस्तै कथा, त्यस्तै प्रेम, उही द्वन्द्व कसरी दर्शकको मन जित्ला ?-Sutra News

फिल्म ‘ईश्वर’: उस्तै कथा, त्यस्तै प्रेम, उही द्वन्द्व कसरी दर्शकको मन जित्ला ?

मंगलबार, १ साउन २०८१

मंगलबार, १ साउन २०८१

काठमाडौं । आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को टिम यति बेला प्रचार–प्रसारमा निकै व्यस्त छ । ‘ईश्वर’को टिम कसरी हुन्छ फिल्मका लागि दर्शक बटुल्ने प्रयत्न गरिरहेको छ ।



राजु गिरीको निर्देशन रहेको यो फिल्ममा पृथ्वीराज प्रसाईँ, अनु शाह, सुनील थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, ध्रुव थापा, कृष्टि गुरुङलगायत कलाकारको अभिनय छ । फिल्ममा अन्तजातीय प्रेमलाई समाजले हेर्ने नजर र गर्ने व्यवहारबारे वास्तविकता चित्रण गरिएको दाबी निर्माण पक्षको छ ।

अहिले औसतरूपमा सातामा दुई वटा फिल्म रिलिज भइरहेको फिल्म क्षेत्रले घाटाको व्यापार गरिरहेको अवस्था छ । अक्सर राम्रो ‘हाइप’ बनाएका फिल्मले पनि बक्स अफिसमा निकै निराशाजनक व्यापार गरिरहेका छन् ।

कन्टेन्ट र स्क्रीप्ट भनेको फिल्मको लागि पिलर हो । त्यही कारण दर्शकको रोजाइमा पनि कन्टेन्ट र स्क्रिप्ट राम्रो भएका फिल्महरू परिरहेका हुन्छन् ।

आफ्नो फिल्म कुन विधाको हो, कस्ता दर्शकलाई लक्ष्य गरिएको हो, त्यसको बजार कति छ, त्यसबाट कति पैसा उठ्न सक्छ भन्ने विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्छ । त्यसैअनुसारको प्रदर्शन योजना बनाउनुपर्छ ।

‘खोलामा हाम फाल्नु अगाडि पौडी खेल्न सिक्नुपर्छ’ भन्नु सामान्य नियम हो । कसैले पौडी खेल्न नजानी हाम फाल्छ र डुब्छ भने त्यसमा खोलाको दोष हुँदैन ।

यस्तोमा दुई करोड बढी लगानी गरेको भनिएको फिल्म ‘ईश्वर’ले कस्तो व्यापार गर्ला भन्ने संशय यति बेला उठेको छ । लगानी गरिएको रकम र फिल्मको ट्रेलर र गीतले बटुल्न नसकेको चर्चाले प्रश्न उठाएको हो ।

निराशा पैदा गर्ने ट्रेलर र गीत

फिल्म यस्तो विधा हो, जहाँ हजारौँ वर्ष पुरानो समयलाई फर्काएर ल्याउन पनि सकिन्छ र आउने हजार वर्षपछिको समयको कल्पना पनि गर्न सकिन्छ । फिल्म कसका लागि बनाउने हो ? फिल्म बनाइसकेपछि बनाउनेका घर परिवार र आफन्तले मात्र हेरेर पुग्दैन । फिल्मलाई धेरैभन्दा धेरै दर्शकले हेर्नुपर्छ ।

गुपचुप प्रेम, परिवारको डर, केटाले गर्ने आँट, परिवारको अवरोध अनि एउटा परिवारले अर्को परिवारलाई दिने चुनौती, यो कथा नेपाली दर्शकले कति हेरे ६० को दशकसम्म ? उस्तै डाइलग, उस्तै अभिनय, उस्तै गीत, उस्तै कथा वाचनको शैली कति हेरे दर्शकले ‘लुट’ आउनु अगाडि ? जुन निर्देशक र कलाकारका फिल्म आए पनि यही होइन र कथा ?

समय फेरियो । फिल्मका दर्शक फेरिए । दर्शकको बुझाई फेरियो । फिल्म हेर्ने नजर फेरियो । अनि फिल्म पनि फेरिए । फिल्मका कथा फेरिए । कथा भन्ने शैली फेरियो । अभिनयको ढाँचा पनि फेरियो । तर, कसैले फेरि उही समय फर्काउँछु, शैली र टेस्ट फर्काउँछु भन्यो भने त्यो सम्भव होला र ? सम्झिएर नोस्टाल्जिक हुनु बेग्लै कुरा । दर्शकले पत्याउनु अलग कुरा । दोस्रो पक्ष चाहिँ बलियो भयो भने के हुन्छ ? प्रस्टै छ, नचल्न सक्छ ।

गत जेठ ३२ गते ट्रेलर १ भनेर सार्वजनिक भएको ‘ईश्वर’को कमजोर ट्रेलरले यही सम्भावना संकेत गरेको छ । एक महिनाअघि रिलिज भएको फिल्मको ट्रेलर एक लाख भ्यूज कटाउन मुस्किल भएको छ ।

यता, निर्माण पक्षले फरक–फरक नाम दिएर सार्वजनिक गरेका फिल्मको ‘तिमी आयौ’ र ‘आहा भो आहा भो’ शीर्षकका एउटै शब्द भएको गीतले पनि दर्शकको ध्यान तान्न सकिरहेको छैन । यसै गरी अर्को सार्वजनिक ‘पुरा भयो सपना मेरो’ बोलको गीतमा पनि दर्शकको खडेरी लागेको देखिन्छ ।

निर्देशक गिरीका अघिल्ला फिल्मले दर्शक तान्न सकेनन् । अब यो फिल्मले व्यवसायिकरूपमा राम्रो गर्ने र दर्शक तान्नमा आशावादी हुन बाहेक केही छैन ।

फिल्मका मुख्य पात्र कलाकार तथा निर्माता ध्रुव थापा, पृथ्वीराज प्रसाईं र अनु शाह दर्शक माझ पुरानो नाम हो । यही फिल्मबाट पृथ्वीराज र अनुले पाँच वर्षपछि अभिनयमा कम ब्याक गरेको बताउँदैछन् भने निर्माता समेत रहेका ध्रुवले कामको संख्याका आधारमा अरू कलाकारलाई सिनियर र समय, अनुभवका आधारले जुनियर नमान्ने तर्क गरेका छन् ।

तर, उनीहरूका युट्युबमा सार्वजनिक भएका सामाग्रीले फिल्म ‘ईश्वर’ मार्फत वषौंपछि कमब्याक गरे भन्ने प्रत्याभूति दिलाउनु बाहेक अपेक्षा करिअरमा गतिलो स्थान दिलाउला कि न दिलाउला रिलिजको समयलाई प्रतीक्षा गर्नु पर्ने देखिन्छ ।

यसको निर्माण टिमदेखि कलाकारसम्मले भन्ने गरेको भनाइ ‘हामीले दर्शकलाई मन पर्ने फिल्म बनाएका छौँ ।’ समस्या तब सुरु हुन्छ, जब दर्शकलाई मन पर्ने भनेर बनाइएका फिल्म नै दर्शकहरुले मन पराउँदैनन् । गत वर्ष रिलिज भएकामा मुस्किलले आधा दर्जन फिल्मले लगानी उठाउनु त्यसको प्रमाण हो ।

व्यापार मात्रै गर्ने उद्देश्य राख्दा फिल्मका अन्य सम्भावनाको उपयोग हुन गाह्रो हुन्छ । एउटा राम्रो व्यापार गर्ने सम्भावना भएको कथा राम्रो फिल्मका अन्य तत्व नहुँदा असफल हुन जान्छन् । धेरैजसो व्यावसायिक फिल्मको समस्या त्यही हो । आफूले बनाएपछि राम्रो छ राम्रो छ भन्ने अडान छाडौँ ।

औसत फिल्मले होहल्लाको भरमा लगानी उठाउलान्, राम्रै फिल्मले चाहिँ लगानी उठाउँछन् भन्ने मानिन्छ । त्यसका लागि समय भने बढी लाग्न सक्छ ।

कुनै फिल्मले आन्तरिक बक्स अफिसबाट मात्रै उठाउला, कुनैले डायस्पोरा वा च्यारिटी सोबाट उठाउला । कसैले फेस्टिभल र अवार्डको सर्कलमा गएर उठाउला, कसैको युट्युब र टिभी स्क्रिनिङबाट पनि पैसा आउला । तर यसका लागि फिल्म राम्रो हुनैपर्छ । नराम्रो फिल्मका लागि पैसा उठाउने यी सबै बाटा बन्द हुन्छन् ।

जुन फिल्म हेर्दा बढी मनोरञ्जन प्राप्त हुन्छ, त्यही फिल्म हेर्छन् दर्शकले । यो विश्वव्यापी मनोविज्ञान हो । अहिलेको समयमा फिल्म क्षेत्रमा पनि भएको यही हो । फिल्म ‘ईश्वर’का सार्वजनिक भएका सामाग्रीले दर्शकको मन जित्न सकेका छैनन् । तर हलमा रिलिज भएपछि दर्शकको मन जित्ने हो या होइन त्यो भने प्रतीक्षाको विषय नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट