फेरि राजनीतिको केन्द्रमा ओली-Sutra News

फेरि राजनीतिको केन्द्रमा ओली

सोमबार, २४ असार २०८१

सोमबार, २४ असार २०८१

काठमाडौं । नेपाली राजनीतिमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक निकै बलशाली स्थितिमा देखिएका छन् । पछिल्ला राजनीतिक उथलपुथलसँगै राष्ट्रिय राजनीति ओलीमै केन्द्रीत हुन आइपुगेको देखिन्छ ।



तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटन र संसद विघटनका घटनाक्रमसँगै राष्ट्रिय राजनीतिमा आएको फेरबदलले ओलीलाई किनारामा पुर्‍याएको थियो । तत्कालिन समय विकास भएको राजनीतिक घटनाक्रमले ओलीलाई कमजोर मात्रै बनाएको थिएन, समग्र राजनीति धुव्रिकृत बन्दै ओलीविरुद्ध खडा भएको थियो ।

तीन वर्षअघि २०७८ असार २८ मा ओली जसरी एकै पटक सत्ताको नेतृत्वबाट प्रतिपक्षको बेन्चमा फ्याँकिएका थिए, तीन वर्षपछि फेरिएको घटनाक्रमले उनी फेरि सत्ताको नेतृत्वमा आउँदैछन् । योबीचमा यति धेरै घटनाक्रममा परिवर्तन आएको छ कि ओलीले आफूविरुद्ध बनेका सबै घेरालाई भत्काएका छन् । अहिलेसम्मको सिनारियो हेर्दा, ओलीले आफूविरुद्धका घेरालाई कहिल्यै खडा हुन नसक्ने गरी भत्काउँदैछन् ।

तीन वर्षअघिको राजनीतिक उथलपुथलले ओलीविरुद्ध कांग्रेस, माओवादी केन्द्रसहित थुप्रै शक्तिहरुलाई एक ठाउँमा उभ्याइदिएको थियो । सँगै, राजनीतिमा ओलीलाई निषेध गर्ने अवस्था पनि बनाएको थियो ।

जसलाई उनले २०७९ मंसिरको आम निर्वाचनपछि तोड्न प्रर्यत्न गरेका थिए । यद्यपि, त्यो सफल हुन सकेन ।

माओवादी केन्द्रले केही महिनामै पुरानै गठबन्धन ब्यूँताइदियो । राष्ट्रपति निर्वाचनको संघारमा एमाले सत्ताबाट बाध्यकारीरुपमा बाहिरिएको थियो ।

तर, एक वर्षपछि राष्ट्रियसभा अध्यक्षको निर्वाचनसँगै (२०८० फागुन २१) एमाले सरकारमा फर्कियो । यसपटक एमालेले कांग्रेससँग गाँसिएको माओवादी केन्द्रलगायतको सम्बन्ध मात्रै भत्काएन सधैँका लागि नै सम्बन्ध गाँस्ने उपाय पनि भत्काउने तयारी गरेको छ ।

असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको छलफलका आधारमा असार १७ मा भएको दुई दलीय सहमतिले मुलुकलाई नै दुई दलीय राजनीतिको अभ्यासतर्फ लैजाने प्रर्यत्न गरेको छ । जसले माओवादी केन्द्रसहित साना तर, सत्ताका लागि सधैँ महत्वपूर्ण गोटी बनेका शक्तिलाई पाखा पन्छाउने अवस्था बनाएको छ ।

जनमतमा बलिया यी दुवै दलले तत्कालको लागि मात्रै सत्ता सहकार्यको सहमति गरेका छैनन्, साना दललाई सत्ता राजनीतिबाटै पन्छाउन संविधान संशोधन गर्ने सहमति पनि गरेका छन् । जहाँ विद्यमान चुनावी प्रणाली फेर्नेदेखि थ्रेसहोल्डको व्यवस्थालाई कडाई गर्ने विषयमा सहमति गरिएको छ ।

यसले माओवादी केन्द्रसहित साना सबै दलको राजनीतिक भविष्यमाथि ठूलो प्रश्न खडा गराएको छ । सँगै, घटनाक्रमले समग्रतामा ओलीलाई सफल बनाएको छ ।

एकातिर राजनीतिकरुपमा ओलीले उठाएको दुई दलीय व्यवस्था कार्यान्वयन हुने अवस्थातर्फ मुलुक उन्मुख बनेको छ भने अर्कोतर्फ राष्ट्रिय राजनीतिको नेतृत्व पनि ओलीले नै लिने अवस्था बनेको छ । दुई दलको सहमतिबाट ओली तत्कालको निम्ति मात्रै प्रधानमन्त्री बन्दै छैनन्, २०८४ को निर्वाचनपछिका लागि पनि उनी तयारीमा देखिन्छन् ।

ओलीले सत्तामा रहेपनि र नरहेपनि ‘मिसन ८४’लाई अगाडि बढाइरहेका छन् । ओलीले घोषितरुपमै मिसन ८४मा आफू रहेको बताइरहेका छन् ।

सत्ताको नेतृत्वमा पुग्नु, संविधान संशोधनतर्फ मुलुकलाई लैजानु र मिसन ८४ को अभियानमा निरन्तर लागिरहनुले आगामी राजनीति थप ओली केन्द्रीत नै हुने कुरामा दुविधा छैन ।

“तत्कालका लागि ओली पूर्ण सफल”

वामपन्थी राजनीतिक विश्लेषक मुकुन्द आचार्य राष्ट्रिय राजनीति फेरि एक पटक ओली केन्द्रीत बनेको बताउँछन् । आफूविरुद्धका सबै घेरा तोड्न पनि ओली सफल भएको उनले बताए ।

“अहिलेको अवस्था ओली अनुकुलित बनेको देखिन्छ, ओलीले समग्र आफूविरुद्धका घेरा तोडेर राजनीतिलाई नै आफू अनुकुलित बनाएका छन्”, आचार्य भन्छन्, “पछिल्लो राजनीतिक उथलपुथल ओलीका निम्ति फाइदाकर बन्यो, यसले ओलीलाई दिर्घकालिनरुपमा पनि आफू अनुकुल राजनीति बनाउन मद्दत गरेको देखिन्छ ।”

यद्यपि, संविधान संशोधनसँग सम्बन्धित केही विषयले राजनीतिमा अर्को शक्ति जन्मिन सक्ने र ओलीविरुद्ध केन्द्रीत हुनसक्ने सम्भावना पनि बढाएको आचार्यको बुझाई छ । “ओली पछिल्लो परिवर्तनलाई उल्ट्याउने शैलीमा देखिन्छन्, समानुपातिक, समावेशीलगायतका एजेन्डालाई उनी खारेज गरेर अगाडि बढ्न चाहिरहेका छन्”, आचार्य भन्छन्, “जुन एजेन्डा भने ओलीका निम्ति प्रतिकुल पनि हुनसक्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट