काठमाडौं । आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, राम अविरल बिष्टको शब्द र एसडी योगीकै संगीत छ । गीतले अभिनेत्री वर्षा सिवाकोटी र डेब्यू अभिनेता अमर प्रताप श्रेष्ठको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। गीतको भिडियोमा वर्षा र अमरप्रताप रोमान्टिक देखिएका छन् ।
किरण थापाले कोरियोग्राफी गरेको गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्। नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे।
अभिनेत्री वर्षा सिवाकोटीले फिल्म सुन्दर बनेको र यसबाट आफूले निकै आशाबादी रहेको बताइन्। उनले भनिन्, ‘यो फिल्मको टिम नयाँ भए पनि सशक्त छ। म यसको हिस्सा बन्न पाउँदा खुसी छु, फिल्मले हाम्रै आफ्नो कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।’
डेब्यू अभिनेता श्रेष्ठले आफ्नो पहिलो प्रयास रहेको र सबैको साथ आवश्यक परेको बताए । अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले फिल्मको भविष्य देखाएको प्रतिक्रिया दिए।
सार्वजनिक गीतमा किरण थापाको कोरियोग्राफी रहेको छ भने उत्सव दाहालको छायांकन, भरत रेग्मीको सम्पादन छ । फिल्ममा वर्षा र अमरसँगै प्रविण खतिवडा, सरोज खनाल, रेजिना उप्रेति, दिलिप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, कमलमणी नेपाल, हिउँवाला गौतम, सुव्रतराज आचार्य लगायतका कलाकारको अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता दिलिप केसी हुन् भने हरि श्रेष्ठ सह-निर्माताको रुपमा छन् । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको निर्मापक्षको भनाइ छ।
यस फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।